स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन मंगलबार अधिकांश दलले आफ्ना उम्मेदवारको नाम घोषणा गरेका छन्।
प्रदेश नम्बर २मा हुने स्थानीय तह निर्वाचनका लागि बुधबार उम्मेदवारको नाम दर्ता गर्ने कार्यक्रम छ। यो प्रदेशको सम्भावित राजधानीका रूपमा हेरिएको जनकपुर उपमहानगरपालिकामा सबै प्रमुख दलले आफ्ना उम्मेदवारको नाम तय गरेका छन्।
राष्ट्रिय जनता पार्टी र एमालेले मंगलबार जनकपुर आफ्ना उम्मेदवार तय गरेका हुन्। राजपाले लालकिशोर शाहलाई प्रमुखको रूपमा उठाउने भएको छ भने रीता झालाई उपप्रमुखको उम्मेदवार बनाएको छ।
एमालेले लक्ष्मीनारायण भगतलाई प्रमुखको उम्मेदवारका रूपमा अघि सारेको छ। साथै, पुनमकुमारी मिश्रलाई उपमेयरको उम्मेदवार बनाएको छ।
नेपाली कांग्रेसले मेयरमा मनोज शाह र उपमेयरमा मिलनकुमारी कर्णलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ।
संघीय समाजवादी फोरमले विष्णुकुमार साहलाई मेयरका उम्मेदवार बनाउने भएको छ भने उपमेयरमा रीताकुमारी यादवलाई टिकट दिएको छ।
माओवादी केन्द्रले भने अहिलेसम्म उम्मेदवारको नाम सार्वजनिक गरेको छैन।