प्रदेश नम्बर २को स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढ्ने औपचारिक निर्णय गरेको नेकपा माओवादी केन्द्रलाई उम्मेद्वार टुङ्ग्याउन हम्मे परेको छ।
बुधबार बिहान १० बजे देखि साँझ ५ बजेसम्म उम्मेद्वारी दर्ताको कार्यक्रम छ,प्रमुख दल र मधेसवादी दलले उम्मेद्वार टुङ्गो लगाइसक्दा पनि माओवादी भने अलमलमै देखिन्छ।
के गरिरहेको छ त माओवादी?
मधेसमा कांग्रेस र एमाले भन्दा कमजोर जनाधार भएकाले एक्लै लड्नु भन्दा सकेसम्म तालमेलमै जाने रणनीति उसले लिएको छ। उम्मेदवार टुंगाउन पनि उसलाई यहि कारणले ढिलाई भैरहेको हो।
उम्मेद्वार टुङ्गो लगाउन विश्वनाथ साह र मातृका यादव खटिएका छन्। तालमेलको विषयमा निर्णय भने अध्यक्ष प्रचण्ड सहित शीर्ष नेताहरुले लिइरहेका छन्।
एमाले पकड भएका जिल्लामा कांग्रेस माओवादी तालमेलबारे छलफल चलिरहेको छ। यसबारे दिउँसो कांग्रेससंग उसले एकचरण छलफल गरिसकेको छ। बाराको निजगढ र धनुषाको मिथिला नगरपालिकामा तालमेलको टुंगो लागिसकेको छ भने अझै ८ वटा स्थानीय तहका लागि छलफल जारी छ।
माओवादीले वीरगञ्जमा अहिलेसम्म रहबर अन्सारीलाई मेयरको उम्मेद्वार बनाउने बताइरहेको छ। तर तालमेलको निर्णय भए रहबरलाई उपमेयरको उम्मेद्वार बनाउने सम्भावना पनि उत्तिकै छ। कांग्रेस र फोरम नेपालसँग वीरगञ्जमा माओवादीले तालमेल गर्ने विषयमा छलफल चलाई रहेको छ।
माओवादी केन्द्रले धनुषाको जनकपुर उपमहानगरपालिका, बाराको सिमरा उपमहानगरपालिका र कलैयाबारे पनि निर्णय लिन सकेको छैन।
कलैयामा प्रमोदप्रसाद गुप्तालाई उपमेयर बनाउने निर्णय गरिसकेको छ तर तालमेल कुरेरै प्रमुख छनोट गरिसकेको छैन।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले भोलीसम्ममा उम्मेद्वारी र तालमेलका विषयमा टुङ्गो लाग्ने बताइन्। उनले प्रदेश नं २ को उम्मेद्वारीका विषयमा विश्वनाथ साह र मातृका यादवले छलफल गरिरहेको बताइन्।
सप्तरी र सिराहामा भने माओवादीले अधिकांश गाउँपालिका र नगरपालिकामा उम्मेद्वारी घोषणा गरेको छ। १ सय ३६ स्थानीय निर्वाचन हुने भएपनि माओवादीले यो समाचार तयार पार्दासम्म ३६ स्थानको समेत उम्मेद्वारी टुङ्गो लगाउन सकेको छैन।
तराईमा माओवादी जनाधार कमजोर देखिन्छ। त्यसैले पनि उसले सकेसम्म तालमेलको रणनीति अपनाएको हो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफै गएर तराईमा एकचरण चुनावी प्रचार गरिसकेका छन्। उनले पार्टीको बैठक समेत वीरगञ्ज र जनकपुरमा गरेका थिए।