आगामी असोज दुई गते हुने स्थानीय तह निर्वाचनमा आफ्ना कार्यकर्ताले विरोध जनाएपछि प्रदेश नम्बर २ मा माओवादीसँगको तालमेलबाट कांग्रेस पछि हटेको छ।
१० स्थानीय तहमा तालमेल गरेर जानेबारे हिजो दिनभर छलफल चल्यो तर धनुषा जिल्लाको निजगढ र धनुषा- मिथिला नगरमाबाहेक अन्य नगर र गाउँपालिकामा तालमेल गर्ने सहमति हुन सकेन। यी दुवै ठाउँमा कांग्रेसका मेयर र माओवादीका उपमेयर संयुक्त उम्मेदवार हुनेछन्।
कांग्रेस नेता आनन्द ढुंगानाका अनुसार, ती दुई शहरबाहेक अन्य ठाउँमा तालमेल हुने सम्भावना अब सकिएको छ।
राजमार्ग जोडिएका र पहाडी बस्ती भएका स्थानमा एमालेको राम्रो भोट छ। एमाले पकड भएका त्यस्ता ठाउँमा माओवादीसँग तालमेल गर्ने रणनीति कांग्रेसले बनाएको थियो।
'तर हाम्रा साथीहरुले तालमेल नगर्न व्यापक दबाब दिएपछि २ ठाउँभन्दा अन्यत्र तालमेल नहुने भएको छ,' कांग्रेस केन्द्रीय सदस्य ढुंगानाले सेतोपाटीसँग भने।
बाराको जितपुर-सिमरा उपमहानगरपालिका, सर्लाहीको लालबन्दी र हरिवन नगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिका, सिराहाका मिर्चैया, गोलबजार र सर्जनाहा नगरपालिकामा पनि तालमेल गर्नेबारे छलफल भइरहेको थियो।
चन्द्रपुर नगरपालिकाका कांग्रेस पदाधिकारीले त तालमेल गरे चुनावमा भागै नलिने निर्णय गरि केन्द्रमा पठाएका थिए।
तराईमा जनाधार त्यति राम्रो नभएकाले सकेसम्म तालमेलमै जाने माओवादीको पनि रणनीति थियो।