सय दिनअघि काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनमा रञ्जु दर्शना र किशोर थापा आपसमै भिडेका थिए।
विवेकशील नेपाली दलकी रञ्जु र साझा पार्टीका किशोरले धेरैलाई चकित पार्ने गरी उल्लेखनीय मत ल्याए। त्यतिबेला धेरैले भनेका थिए, ‘यी दुवै पार्टी मिलेर एउटै उम्मेदवार उठाएका भए पुराना दललाई कडै चुनौती हुन्थ्यो।’
आखिरमा दुवै पार्टी एक भएर विवेकशील साझा पार्टी स्थापना भयो।
र, बिहीबार ललितपुरको बखुण्डोलस्थित पार्टी कार्यालयमा रञ्जु र किशोर दुवै मिलेर निर्वाचित मेयर विद्यासुन्दर शाक्यलाई सयदिने ‘शल्यक्रिया’ गर्दै कडा चुनौती दिए।
दुवैले एकै स्वरमा भने, ‘सय दिनमा विद्यासुन्दरजी फेल हुनुभयो।’
सपथग्रहणपछिका सय दिनमा विद्यासुन्दरले १ सय १ सम्मान लिनेबाहेक उपलब्धिमूलक काम गर्न नसकेको उनीहरूको आरोप थियो। रञ्जुले भनिन् ‘तीन महिनाभित्र पूरक परीक्षा दिएर पास हुन’ विद्यासुन्दर र उपमेयर हरिप्रभा खड्गीलाई थप मौका दिएकी छन्।
‘पूरक परीक्षाको निम्ति तीन महिना समय छ, मिहिनेत गरे विद्यासुन्दर र हरिप्रभाजी दुवै पास हुन सक्नुहुन्छ,’ रञ्जुले भनिन्, ‘बरु हामी ट्युसन टिचर भएर हेल्प गर्न तयार छौं।’
थापाले पनि विद्यासुन्दरले सय पूर्णांकमा ४० नम्बर पनि ल्याउन नसकेको बताए। ‘पास मार्क पनि ल्याउन सक्नुभएन,’ उनले भने।
निर्वाचन जित्ने नाममा सय दिनमा १ सय १ कामको भारी बोक्नु विद्यासुन्दरको गल्ती भएको रञ्जु र किशोरको भनाइ थियो। ‘ती काम सम्भव थिएनन्। बर्खा याममा कतिपय काम हुने अवस्था पनि थिएन,’ थापाले भने, ‘पुनर्निर्माण गर्ने भन्नुभयो। कुनै काम हुन सकेन।’
रञ्जुले यो सय दिनमा विद्यासुन्दर निरर्थक काममा व्यस्त रहेको आरोप लगाइन्। सय दिनमा १ सय १ कामको बाचा गरे पनि मोबाइल किन्ने निर्णयदेखि गाडी खरिद गर्नेबाहेक जनताको हितमा काम गर्न नसकेको उनले बताइन्।
‘उहाँ त बरु १ सय १ सम्मान खाएरै व्यस्त हुनुभयो,’ रञ्जुले भनिन्, ’बिग्रेको अवस्था सुधार्न कुनै कदम चालिएन।’
निर्वाचित मेयर तथा उपमेयरले यस अवधिमा गर्न सक्ने कामधरि नगरेको रञ्जु र किशोरको भनाइ छ।
किशोरका अनुसार कम्तीमा राजधानीका फुटपाथ व्यवस्थित गरेर हिँड्नलायक बनाउन सकिन्थ्यो। जेब्राक्रसमा रङरोगन गरेर देखिने बनाउन सकिन्थ्यो। बाटोमा हिँड्दा खाल्डोमा खस्न नपर्ने बनाउन सकिन्थ्यो।
राजधानीका धेरै फुटपाथ बिग्रेका, भत्केका छन्। कतिपय सडकमा त फुटपाथै छैनन्। फुटपाथ अतिक्रमण गर्ने प्रवृत्ति उत्तिकै छ। त्यसमाथि जेब्राक्रसको रङ फुंग उडेर धेरै ठाउँमा देखिँदै देखिन्न।
रञ्जुले आफू मेयर भएको भए बाचा कम र काम बढी गरेर देखाइदिने बताइन्। ‘खाल्डा पुर्ने र धुवाँधुलो हटाउने प्रविधि हेर्थेँ, घरबाट फोहोर फाल्दा कुहिने र नकुहिने छुट्याउन सिकाउँथेँ,’ उनले भनिन्।
विद्यासुन्दरले काठमाडौंमा निर्माण गर्ने भनी बाचा गरेको मोनोरेलको आवश्यकतामाथि पनि थापाले प्रश्न उठाएका छन्। ‘उहाँले दुई वर्षमै निर्माण गर्ने भन्नुभएको छ,’ उनले व्यंग्यात्मक शैलीमा भने, ‘हामीलाई चढ्ने रहर लागिसक्यो, तर यो अझै पाँच वर्ष बन्दैन।’
यति आलोचनाबीच पनि विद्यासुन्दर मेयर भएपछि काठमाडौं महानगरपालिकाले सुरू गरेको ‘क्लिन द सिटी’ अभियानको दुवैले प्रशंसा गरे। त्यसमा आफूहरूलाई पनि सहभागी गराउन उनले आग्रह गरे।
‘बरु जस उहाँलाई होस्, तल माथि भए हामी दोष लिउँला,’ थापाले भने, ‘हामी राजनीति सफा गर्न लागेको मान्छे, ‘क्लिन द सिटी’ अभियानमा सहभागी हुन चाहन्छौं।’
रञ्जुले पनि स्वयंसेवक लिएर टोलटोलमा सफाइ अभियान चलाउन तयार रहेको उल्लेख गरिन्। विद्यासुन्दरले सय दिनमा पनि आफूहरूलाई भेट्ने अवसर नदिएकोमा उनले गुनासो गरिन्।
काठमाडौं महानगरको मेयर पदका लागि प्रतिस्पर्धामा रहेकी रञ्जुले तेस्रो स्थानमा रहँदै २३ हजार ४ सय ३९ मत प्राप्त गरेकी थिइन्। थापाले भने १८ हजार ४ सय ९६ मत प्राप्त गरेका थिए। विद्यासुन्दर ६४ हजार ९ सय १३ मतले विजयी भएका थिए। उपमेयर हरिप्रभा खड्गीले ५८ हजार ९ सय ५२ मत ल्याएकी थिइन्।