काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संविधानले दिएको अधिकार नपाएकाले सोचेअनुसार काम गर्न नसकेको बताएका छन्।
आफ्नो कार्यकालको सय दिन अवसरमा आयोजित पत्रकार सम्मेलनमा मेयर शाक्यले नीतिनियम अभावमा पनि आफूले बनाएको योजनाअनुसार नै काम भइरहेको बताए।
‘हामीसँग सिमित श्रोतसाधन छ। नीतिनियम अस्पष्ट र कर्मचारी अभाव छ,’ उनले भने, ‘मैले प्रतिबद्धता जनाएका एक सय एक योजनामध्ये असीभन्दा बढीमा काम भइरहेको छ।’आफूले ल्याएका यो
जना कुनै पनि असम्भव नभएको दावी गर्दै उनले यसका निम्ति समय लाग्न सक्ने बताए।
काठमाडौंका सबै सडकको जिम्मेवारी महानगरको मात्र नभएको भन्दै उनले भने, ‘महानगरले जिम्मा लिने भनेको आठ मिटरभन्दा साना सडक हो। अरु सडकको जिम्मेवारी केन्द्रीय सरकारको हो। हामीले जिम्मेवारी अनुसारको काम गरेका छौं।’
पच्चीस लाखभन्दा कमको योजना बनाउने काम वडाको भएकोले त्यही अनुसारको बजेट समेत बिनियोजन भएको उनले बताए।
महानगरले एक, पाँच र बीस वर्षको योजना बनाएको बताउँदै भूकम्पबाट भत्किएका सम्पदाको पुनर्निर्माण पनि सुरु गरेको शाक्यले जानकारी दिए।
‘हामीले सडकका तार व्यवस्थापनदेखि ट्राफिक लाइट बनाउने, प्रहरीलाई सहयोग गर्नेसम्मका काम गरिरहेका छौं,’ उनले भने, ‘महानगरका खोलानाला मिच्ने काम भएको छ तर, चाहेर पनि यसको व्यवस्थापन गर्न सकिएको छैन।’
काठमाडौंको फोहर व्यवस्थापन गर्न सिसडोलबासीसँग थप छलफल भइरहेको तर, स्थानीयले नयाँ–नयाँ माग राखेकाले समस्या भएको उनले बताए।