स्थानीय निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलका शीर्षनेताको ध्यान दुई नम्बर प्रदेशमा केन्द्रित भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको मधेस यात्रा भने अहिलेसम्म निश्चित हुन सकेको छैन।
अध्यक्ष ओलीको सचिवालयअनुसार उनी यही भदौ २८ गते दुई नम्बर प्रदेशको चुनावी यात्रामा निस्कने तयारी छ। अहिलेसम्म कहाँ-कहाँ जाने कार्यक्रम भने तय भइसकेको छैन।
एमाले महासचिव ईश्वर पोखरेलले अध्यक्ष ओली मधेश झर्ने कार्यक्रम तय भइनसकेको बताए। 'अध्यक्षज्यू मधेस झर्नुहुन्छ, तर कार्यक्रम अझै तय भइसकेको छैन। हामी मिलाउँदैछौं,' उनले सेतोपाटीसँग भने।
महासचिव पोखरेलले नै दुई नम्बर प्रदेशको चुनावी तयारी संयोजन गरिरहेका छन्।
यसबीच प्रतिस्पर्धी पार्टीका शीर्षनेताले मधेस कार्यक्रम तय गरिसकेका छन्। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा मंगलबार नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइरालालाई लिएर मधेस झर्दैछन्। उनी मौन अवधि सुरू नभएसम्म त्यतै रहने बताइएको छ।
कांग्रेस नेता विमलेन्द्र निधि लामो समयदेखि दुई नम्बर प्रदेशमै छन्। जनकपुरमा बसेर उनले चुनावी तयारीको संयोजन गरिहेका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल एक महिनादेखि दुई नम्बर प्रदेश केन्द्रित कार्यक्रममा लागिरहेका छन्। यो महिनाको अधिकांश समय उनले जनकपुरमा बिताएका छन्। हत्तपत्त साधारण कार्यक्रममा नपुग्ने अध्यक्ष दाहाल यसपटक चिया पसलमा बसेर कार्यकर्ता तथा सर्वसाधारणसँग गफिए।
यसरी प्रधानमन्त्री देउवा मधेस झर्ने कार्यक्रम तय भइसक्दा र माओवादी अध्यक्ष दाहाल मधेसमै डेरा जमाएर बस्दा अध्यक्ष ओलीको कार्यक्रम बन्न सकेको छैन। संविधान जारी भएपछि ओली मधेसविरोधी अभिव्यक्ति दिएकाले आलोचित छन्। मधेसकेन्द्रित दलहरुको तारो बनेका ओली संविधान जारी भएपछि एकपटक मात्रै जनकपुरको कार्यक्रममा पुगेका छन्।
एमालेको 'मेची महाकाली राष्ट्रिय अभियान' बेला राजविराजमा दुई नम्बर प्रदेशको पहिलो कार्यक्रममै झडप भएपछि अरू कार्यक्रम स्थगित गरिएका थिए। अभियानअघि मधेसी आन्दोलनकारीविरूद्ध तीखो घोचपेच गर्ने ओलीलाई एमालेकै कतिपय नेताले आफ्नो बोलीमा संयम अपनाउन सुझाएका थिए।
अध्यक्ष ओलीले भने आफ्नो कुरालाई तोडमरोड गरेर नकारात्मक अर्थसहित प्रचार गरिएको बताउँदै आएका छन्।
मधेसमा अलोकप्रिय छवि बनेका ओली चुनावी कार्यक्रममा जान नहतारिएका हुन्। एमालेले पूर्वमहासचिव माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेललाई मधेसमा खटाएको छ। चुनावी तयारीको सबै काम सुरुदेखि महासचिव पोखरेलले संयोजन गर्दै आएका छन्।
नेता नेपाल पनि लगभग एक महिनादेखि मधेसका कार्यक्रममा बाक्लै उपस्थित भइरहेका छन्। केही समय उत्तर कोरिया भ्रमणमा गएको बाहेक उनी प्राय: मधेसमै बसिरहेका छन्।
नेपालबाहेक उपमहासचिव घनश्याम भूषाल र विष्णु पौडेल तथा सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, प्रदीप ज्ञवाली लगायत नेताहरू दुई नम्बर प्रदेशमा केन्द्रित छन्।