'हाम्रै मधेसी समुदायको एउटा केटाले यही बजारमा पहाडी केटीको छाता भाँचिदियो। हामीले त्यो मधेसी केटाको बाइकको चाबी खोस्यौं। त्यसलाई माफी माग्न लगायौं। हेप्न त भएन नि!'
जीतपुर सिमरा उपमहानगरपालिकाका मतदाता मनोजप्रसाद साहले सुनाएको यो घटना उनकै पसल अगाडि भएको हो।
यही असोज २ गते स्थानीय तह निर्वाचन हुन गइरहेको जीतपुरमा मधेसी समुदायको बाहुल्य छ भने सिमरामा पहाडी समुदायको। तर, यहाँ पहाडी-मधेसीबीच सद्भावपूर्ण सम्बन्ध रहेको मनोज बताउँछन्।
'मधेसी, पहाडी भन्दै के भोट पनि छुट्टिन्छ?' भन्ने प्रश्नमा उनको जवाफ थियो, 'समुदाय हैन मान्छे हेर्ने हो।'
जीतपुर सिमरा उपमहागरपालिका वीरगन्जबाट २० किलोमिटर दुरीमा छ। छ महिनाभन्दा लामो मधेस आन्दोलनको केन्द्रमा रहेको वीरगन्जको प्रभावले सिमरालाई छोएन। जीतपुरमा भने फाट्टफुट्ट प्रभाव पर्यो।
मधेसी र पहाडीको मिश्रित बस्ती रहेको जीतपुर सिमरामा राजमार्गछेउ र निर्माणाधीन हुलाकी राजमार्गको माथिल्लोपट्टि बाक्लो पहाडी बस्ती छ। सडकको तल्लोपट्टि थारु बस्ती। अझ तल्लोपट्टि मधेसी समुदायको बस्ती। कुनै समय रौतहटको हजमुनिया दरबारका राजाहरु हिँड्ने रजैया सडक हुलाकी राजमार्ग बन्दैछ। त्यही सडक आसपास पारेर सिमरा क्षेत्रमा ठूलो बस्ती बसिरहेकै छ।
जीतपुर सिमरामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच त्रिपक्षीय प्रतिस्पर्धा छ। २०६४ र २०७० को निर्वाचनमा यहाँ एमालेले जितेको थियो। यसपटक उसलाई कांग्रेस र माओवादी केन्द्रले चुनौती दिइरहेका छन्। एमालेले कृष्णप्रसाद पौडेललाई मेयर उम्मेदवार बनाएको छ भने कांग्रेसले कृष्णवर्त सिंह र माओवादी केन्द्रले राजन पौडेललाई उठाएको छ। त्यस्तै, राजपाले अखिलकुमार सिंह र फोरम लोकतान्त्रिकले राजकुमार चौधरीलाई उम्मेदवार बनाएको छ। मधेसकेन्द्रित दलहरुको प्रभाव भने जीतपुर सिमरामा खासै छैन।
पछिल्लो मधेस आन्दोलनमा समेत यहाँका मधेसी समुदायको खासै उपस्थिति थिएन। जीतपुरका प्रह्लाद गुप्ता यहाँका मधेसी समुदायले विभेद अनुभव नगरेको बताउँछन्।
'जीतपुर पहिलेदेखि नै व्यापारिक स्थल हो, मान्छे आर्थिक रुपमा समृद्ध भएपछि कसैले हेप्न सक्दैन, यसले विभेदको कुरो नउठ्ने रहेछ', हार्डवेयर व्यवसायी गुप्ताले भने, 'व्यापारीहरु अलिक बढी कांग्रेस समर्थित थिए। अहिले एमालेमा पनि धेरै छन्।'
अर्का व्यापारी सुराज मन्सुरको जीतपुरमै चप्पल व्यवसाय छ। उनी पनि व्यापरिक र बुद्धिजीवी वर्ग धेरै भएकाले जीतपुर सिमरामा मधेसी पहाडीबीच सद्भाव रहेको बताउँछन्।
सिमरा बस्ने श्याम अधिकारीले पनि पहाडी र मधेसीबीच खासै चर्को विभेद देखेका छैनन्। यति हुँदाहुँदै मधेस आन्दोलनका कारण वीरगन्ज बस्न अप्ठेरो मानेका पहाडी समुदायले सिमरामा घर-घडेरी किनेको उनले बताए।
'एक जना काफ्ले थरका अधिवक्ता वीरगन्जबाट सिमरा आउनुभयो। कोइराला थरका शिक्षक पनि आउनुभयो,' उनले भने, 'पहाडी मूलका बासिन्दा यता बस्न सहज मान्छन्।'
सिमरामै रहेर पत्रकारिता गरिरहेका बिदुर खड्का जीतपुर सिमरा उपमहानगरपालिमा झन्डै दस हजारभन्दा बढी पहाडे समुदायका मानिस रहेको बताउँछन्। पहाडे, मधेसी र थारु समुदायबीच आपसी हेलमेल बढ्दै गएकाल सद्भावपूर्ण सम्बन्ध बनेको उनको भनाइ छ।
'हामी सिमरा आएर बस्दा यहाँ मधेसी युवतीहरु हामीलाई देखेर भाग्थे, इनारमा बोकेर आएको बाल्टिन छाडेर हिँड्थे, अहिले बहस गर्छन्,' खड्काले भने।
जीतपुर सिमरा उपमहानगरपालिका बाराको पुरानो क्षेत्र नम्बर ३ र ४ मा पर्छ। पुरुषोतम पौडेल र नाजमा खातुनले एमालेबाट एक-एक क्षेत्र जितेका थिए। स्थानीय तह निर्वाचनमा पनि एमालेकै बलियो पकड देखिन्छ। कांग्रेसले इमानदार छविका नेता सिंहलाई उठाएपछि एमाले उम्मेदवार पौडेल कडा चुनौती भोगिरहेका छन्। माओवादीका पौडेल पनि थारु समुदायलाई आफूतिर आकर्षित गरिरहेका छन्।
उपमहागरपालिकामा मिसिएको डुमरवानामा एमालेको प्रभाव छ। डुमरवानाको मुहम्मद सहिद खानले आफूले एमालेको सिद्धान्त अंगालेका कारण अब छाड्न नसक्ने बताए। डुमरवानामै थारुको एउटा सिंगो बस्ती माओवादी प्रवेश गरेको छ। गाउँलेहरुका बीच चौतारामा बसिरहेका पल्टन चौधरीले भने, 'यो चौतारी हामीले पैसा उठाएर बनायौं। क्लबको घर पनि आफैं बनायौं। एमाले पार्टीले केही गरेन।'
जीतपुर र सिमराको मुख्य बजारमा मधेसकेन्द्रित दल राजपा र फोरम लोकतान्त्रिकका उम्मेदवार भेटिएनन्। जीतपुर बजारमा व्यापार गर्न बसेका पर्सा र कलैयाका केहीले भने राजपा र फोरमको पक्षमा समर्थन रहने बताए।
तेश्रो चरणको स्थानीय निर्वाचनमा तीन उपमहानगरपालिकामध्ये बाराको जीतपुर सिमरा एक हो। केही दिनदेखि स्थानीय चुनावको रन्कोले यो उपमहानगर पूरै रंगिएको छ। विवेकशील साझा पार्टीकी रञ्जु दर्शना वडाध्यक्ष उम्मेदवारको प्रचारका लागि सिमरा झरेकी छन्। उता, दाङकी शान्ता चौधरी पनि चौधरी बस्तीमा पुगेर एमालेको निम्ति भोट माग्दैछिन्। कांग्रेस नेता रामशरण महत र सांसद रामहरि खतिवडा पनि बाराकै गाउँमा कोण सभामा छन्।