नेकपा एमालेका नेता माधवकुमार नेपालले आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचनमा एमाले नै पहिलो पार्टी बन्ने जिकिर गरेका छन्।
गृह जिल्ला रौतहटको बौधीमाई नगरपालिकाअन्तर्गत इनरवा टोलमा आयोजित चुनावीसभालाई सम्बोधन गर्ने क्रममा उनले पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्म एमालेको जनलहर चलेको बताए।
उनले विपक्षीले एमालेलाई मधेश विरोधी भनेर गलत भ्रम फैलाएकाले त्यस्ता भ्रममा नपरेर स्थानीय निर्वाचनमा पार्टीका सबै उम्मेदवारलाई जिताउन आग्रह गरे। “मधेशी मूलका डा रामवरण यादवलाई नेपालको पहिलो राष्ट्रपति बनाउन समर्थन गर्ने, मधेशी मूलका दलित रामप्रीत पासवानलाई उपसभामुख बनाउने पार्टी कसरी मधेश विरोधी हुन्छ ?” नेता नेपालको प्रश्न थियो ।
मधेशको विकासका लागि काम गर्दै जाँदा केन्द्रबाट अर्बौं लगानी गर्न एमालेको सरकार तयार रहेको बताउँदै नेता नेपालले विकासको रकम फ्रिज नगराउन र भ्रष्टाचारबाट जोगिन कार्यकर्तालाई सचेत गराए। आगामी पाँच वर्षभित्र रौतहटलाई कच्ची सडकमुक्त गराइने उनको भनाइ थियो । रासस