निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका विनोदप्रसाद जैसवाल र नेकपा ९एमाले०का कृष्ण पौडेलसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ ।
प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा आगामी असोज २ गते तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीतका कार्य भएको अनुगमनका क्रममा भेटिएपछि आयोगले ती दुवै पार्टीका उम्मेदवारसँग २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो ।
आयोगले स्पष्टीकरणमा आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेवारी रद्द गर्न नपर्ने कुनै कारण भए २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको नेतृत्वमा रहेको अनुगमन टोलीले बारा जिल्लाको पर्सौनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार जैसवालको नेतृत्वमा निर्वाचन आचारसंहिता विपरीतका काम गरेको भेटेको थियो ।
जैसवाललाई सोधिएको स्पष्टीकरण पत्रमा भनिएको छ, “भदौ ३० गते तपाईंसहितको माओवादी केन्द्रका कार्यकर्ताले बाराको पर्सौनीमा माओवादी केन्द्रको निर्वाचन चिह्नअङ्कित टी–सर्ट, भेस्ट, टोपी, गम्छा लगाई मोटरसाइकलसहितको ¥याली निकाली निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको देखिँदा सोबापत तपाईंको उम्मेदवारी रद्द गर्न किन नपर्ने हो ?”
त्यस्तै आयोगको टोलीले एमालेबाट जितपुर सिमरा उपमहानगरपालिकामा प्रमुखका उम्मेदवार पौडेलको नेतृत्वमा सयौँका सङ्ख्यामा नेता तथा कार्यकर्ताले एमालेको निर्वाचन चिह्नअङ्कित टी–सर्ट आदि लगाई तोकिएको मापदण्डभन्दा ठूलो आकारको पार्टीको झण्डासहितको ¥याली निकाली निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भेटको थियो ।
स्पष्टीकरण पत्रमा भनिएको छ, “निर्वाचन आचारसंहिता उल्लङ्घन गरेबापत तपाईंको उम्मेदवारी रद्द गर्न किन नपर्ने हो? पत्र पाएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नु हुन आदेशानुसार अनुरोध छ ।”
राजपा उम्मेदवारसँग स्पष्टीकरण माग
आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकामा राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट बारा, कलैया उपमहानगरपालिका–८ का अध्यक्षका उम्मेदवार मनोजकुमार चौरसियासँग २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिए।
राजपाका कार्यकर्ता कलैयामा निर्वाचन आचारसंहिताले तोकेभन्दा ठूलो साइजको माइकिङ र ब्यानर प्रयोग गरी निर्वाचन प्रचारप्रसारमा संलग्न रहेको अवस्थामा आयोगको टोलीले उक्त सामग्री नियन्त्रणमा लिई स्थानीय प्रहरीलाई बुझाएको थियो ।
आयोगले सोधेको स्पष्टीकरण पत्रमा भनिएको छ, “आचारसंहिता विपरीतका उक्त क्रियाकलापमा संलग्न भएबापत तपाईंको उम्मेवारी रद्द किन गर्न नपर्ने हो ?” पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन पनि दिइएको छ । रासस