निर्वाचनलाई मध्यनजर गर्दै गएराति १२ बजेदेखि नै निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार निर्वाचन हुने समयभन्दा ७२ घण्टा अघिदेखि निर्वाचन हुने सीमा जोडिएका जिल्लामा नाका बन्द गरिएको हो।
निर्वाचन भइरहेका आठ जिल्ला भारतसँग सीमा जोडिएकाले सीमामा केही दिनदेखि नै विशेष निगरानी बढाइएको थियो ।
खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिनसक्ने नाका बन्द गरिएको हो ।
अवैध हातहतियार र आपराधिक गतिविधिमा संलग्न व्यक्ति नेपाल प्रवेश गर्न लागेमा तालीम प्राप्त कुकुरले सुघेर पत्ता लगाउने भएकाले सबै सीमा नाकामा तालीम प्राप्त कुुकुर परिचालन भएका थिए ।
दुई हेलिकप्टर तयारी अवस्थामाः
निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा एउटा र बारा–पर्साको बीचमा एउटा गरी दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।
यस्तै नेपाली सेनाको बाहिनी र केन्द्रमा समेत थप हेलिकप्टर तयारी अवस्थामा राखिएको गृह प्रवक्ता सुवेदीले जानकारी दिए । तेस्रो चरणको निर्वाचनमा छ हजार ६०० पदका लागि ३६ हजार ३१८ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।
२ नम्बर प्रदेशमा जम्मा २६ लाख ९५० मतदाता र तीन हजार ५७८ मतदान केन्द्र रहेका छन् ।