प्रदेश नम्बर दुईको स्थानीय चुनावको अघिल्लो दिन आइतबार राजपाका अध्यक्ष महन्थ ठाकुर जहाज चढेर काठमाडौं आएका छन्।
असोज २ को चुनावको प्रचारप्रसार गर्न मधेस झरेका ठाकुर चुनावको अघिल्लो दिन ठूलै समस्या परेर भने काठमाडौं फर्केका होइनन्, उनी आराम गर्न आएका हुन्।
उनका स्वकीय सचिव सतेन्द्रकुमार मिश्रले निर्वाचनको दौरानमा दुई नम्बर प्रदेशका सबै जिल्ला पुगेका ठाकुर आराम गर्न काठमाडौं आएको सेतोपाटीलाई बताए।
‘सबै जिल्लामा पुगेर उहाँले भाषण गर्नुभयो। जनतासँग भोट माग्नुभयो,’ उनले भने, ‘मौन अवधिका बेला त्यो गर्मीमा बस्नुभन्दा बरु काठमाडौं आउन बेस भएकाले आउनुभएको हो।’
मिश्रका अनुसार ठाकुर आफ्नो एक भोटले भन्दा पनि जनताको भोटले निर्वाचन जितिने विश्वास गर्छन्। यतिसम्म कि २०७० को चुनावमा उनी आफैं उम्मेदवार थिए तर आफैंलाई भोट भने हालेनन्।
दोस्रो संविधान सभा चुनावमा सर्लाही ६ बाट उम्मेदवार बनेका ठाकुर कांग्रेस उम्मेद्वार अमरेशकुमार सिंहसँग पराजित भएका थिए।
‘२०६४ सालमा म उहाँसँग थिइन्। २०७० सालको चुनावमा उहाँले भोट हाल्न भ्याउनु नै भएन,’ मिश्रले भने,‘विभिन्न ठाउँमा जाँदाजाँदै उहालाई भोट हाल्ने फुर्सद नै भएन।’
ठाकुर सर्लाहीको मलंगवा नगरपालिका– ८ का मतदाता हुन्।