पदका लागि अयोग्य ठहरिएर पाकिस्तानी प्रधानमन्त्रीबाट बाहिरिएका नवाज शरीफकी श्रीमती कुलसुम नवाजले लाहौर चुनावमा जित हासिल गरेकी छन्।
आधिकारीक नतिजा घोषणा नभए कुलसुमले ६१ हजार २ सय ५४ मत पाएर विजेता भएको बिबिसीमा उल्लेख छ।
श्रीमान् नवाजको पदमा उठेकी कुलसुमले प्रतिद्वन्द्वीभन्दा १४ हजार १ सय ८८ मत बढी पाएकी स्थानीय समाचारमाध्यमले जनाएका छन्।
कुलसुम क्यान्सर पीडित भएकाले हाल लण्डनमा उपचाररत छन्। उनको अनुपस्थितिमा छोरी मरयमले चुनावी अभियानको जिम्मेवारी सम्हाल्दै आएकी छन्।
नवाज पदच्यूत भएपछि पाकिस्तानी प्रधानमन्त्री को हुने भन्ने निकै चर्चा चलेको थियो। नवाजले आफ्ना भाइ शेहवाजलाई प्रधानमन्त्रीको मुख्य दाबेदार बनाएका थिए।
पन्जाब प्रान्तका मुख्यमन्त्री शेहवाज प्रधानमन्त्री बन्न मुख्यमन्त्रीबाट राजीनामा दिई संसदीय उपचुनाव जित्नुपर्ने थियो। यी सबै प्रक्रिया लामो हुने र हाल मुख्यमन्त्रीकै रुपमा बलियो पकड भएका शेहवाज यसबाट आफैं पछि हटेका थिए।
शेहवाज पछि हट्नु अगावै पूर्व पेट्रोलियम मन्त्री शाहीद खाकान अब्बासीलाई ४५ दिनका निम्ति अन्तरिम प्रधानमन्त्री बनाइएको थियो।