नेपाल मजदुर किसान पार्टी जुम्लाका १३९ जना कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धितालसहित १३९ जनाले आज पत्रकारसम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पार्टी स्थापना भएको ४४ वर्षसम्म फैलिनुको सट्टा खुम्चिदैं जाने र यसको विषयमा पार्टी नेतृत्वलाई बारम्बार सुझाव दिँदा पनि यथास्थितिमै रहिरहने शैली देखिएकाले आफूहरु बाहिरिने निष्कर्षमा पुगेको सङ्घका केन्द्रीय पूर्वउपाध्यक्ष धितालले जानकारी दिए।
धितालले भने, “नेमकिपाको रणनीति राम्रो भए पनि कार्यनीति, शैली र गतिविधि सही हुन सकेन र पार्टी खुम्चिरह्यो जसले कार्यकर्तामा निराशा छाइरह्यो ।”
परिणामस्वरुप नेमकिपा परित्याग गर्नु परेको र छोड्दा आफूलाई कुनै पश्चाताप नरहेको पनि उनले बताए।
सम्मेलनमा समाजवादी व्यवस्था स्थापनाका लागि माक्र्सवाद, लेनिनवाद तथा माओत्सेतुङ विचारधारालाई आत्मसात् गर्दै देश र जनताको सेवा गर्न पूर्णप्रसाद धिताललको संयोजकत्वमा ‘बृहत् कम्युनिष्ट पार्टी निर्माण अभियान’ गठन गरिएको सार्वजनिक गरिएको थियो ।
यता नेमकिपा जुम्लाका जिल्ला अध्यक्ष शिवलाल डाँगीले पूर्णप्रसाद धितालले गत वैशाख ३१ गतेको स्थानीय तहको चुनावमा भाग लिँदा शिक्षकबाट राजीनामा दिएपछि पार्टीको कुनै पनि जिम्मेवारी नरहेको जनाए। पार्टीमा कुनै हैसियत नभएको उनलाई यही भदौ ३१ गते सिंजा गाउँपालिकाको इकाई कमिटीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको अध्यक्ष डाँगीको भनाइ थियो ।
आफ्नो राजनीतिक जीवनको ३२ वर्षपछि पार्टी परित्याग गरेका धितालले आफूले जिल्लाभरिका सबै कार्यकर्तासँग सुझाव लिएर भदौ १८ गते सिंजामा भेला गरी व्यापक छलफलबाट नेमकिपामा नबस्ने निधो गरिसकेको बताए।
अब न्यूनतम शर्त पूरा गर्ने कम्युनिष्ट पार्टीसँग समायोजन गरेर जाने उनको भनाइ छ । रासस