दश नगरपालिका र ५ गाउँपालिका सहित १५ स्थानिय तह रहेको महोतरीमा सोमबार भएको निर्वाचनमा ७३ दशमलव ३१ प्रतिशत मत खसेको छ।
तीन लाख ८ हजार ४ सय ९ मतदाता रहेको महोतरीको सबै तहमा उत्साहपूर्वक निर्वाचन सम्पन्न भएको र १ लाख ९६ हजार ५ सय ५० मत खसेको जिल्ला मुख्य निर्वाचन अधिकृत कार्यलयले जनाएको छ।
सामान्य वादविवाद र झगडाका घटना बाहेक निर्वाचन शान्तिपूर्वक सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत किरण कुमार पोखरेलले बताए।
दश नगरपालिका र ५ गाउपालिका रहेका महोतरीमा दुई सय ५८ मतदान स्थल रहेको थियो।मतदान सकिएसंगै जिल्लाभरीका मतदान स्थलबाट मतपेटीका संकलन गर्ने काम सुरु भएको छ। सबै दलका प्रतिनिधिको सहमतिमा मुचुल्का बनाएर मतपेटीका संकलन गर्न थालिएको निर्वाचन अधिकृत पोखरेलले बताए । स्थानिय तहको सबै स्थानबाट मतपेटीका संकलन भएपछि उम्मेदवार दलका प्रतिनिधिको सहमती मतगणनाको टुंगो लाग्ने बताइएको छ।
महोत्तरीको विभिन्न मतदान केन्द्रमा प्रोक्सी मत खसाल्न खोज्ने १३ जना मतदातालाई प्रहरीले पक्राउ गरेको छ। अर्काको नाममा मतदान गर्न खोजेकाले जिल्लाको विभिन्न मतदान केन्द्रहरुबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी कुवेर कडायतले बताए।
पिपरा , गौशाला नगरपालिका , बलवा , लोहारपट्टि , सम्सी र जलेश्वर नगरपालिका ८ जनता प्रावि रमौलबाट १३ जना नक्कली मतदातालाई पक्राउ गरिएको उनले बताए।
सका साथै निर्वाचन सुरक्षामा खटिएका प्रहरीले २ वटा चार पांग्रे र २२ वटा मोटरसाईकल र स्कुटर नियन्त्रणमा लिएको एसपी कठायतले बताए।
जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट सवारी पास नै नलिई गैरकानूनीरुपमा सवारी साधन चुनावको समयमा प्रयोग गरेकाले ती सवारीसाधनहरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।