बाराको कलैया र जितपुर सिमरा उपमहानगरपालिकासहित केही स्थानमा मतगणना सुरु हुने भएको छ। बाराकै फेटा गाउँपालिकामा पनि मतगणना सुरु गर्ने तयारी भएको छ। प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरका अनुसार मतगणना सुरु गर्नका लागि ११ बजे सर्वदलीय बैठक डाकिएको छ। राति १२ बजेबाट गणना सुरु गर्ने तयारी भइरहेको छ। कलैयामा पनि दलीय प्रतिनिधिको खोजी भैरहेको उनले बताए।
महोत्तरीको बर्दिबास नगरपालिका र जलेश्वर नगरपालिकामा पनि मतगणना रातिबाटै सुरु हुने भएको छ।
बर्दिबासका निर्वाचन अधिकृत मणिराम न्यौपानेले मध्यरातबाट गणना सुरु गर्ने तयारी भैरहेको बताए। जलेश्वरमा भने राति ११ बजेबाट गणना सुरु हुनेछ।
पर्साको वीरगञ्ज महानगरमा भने मतपेटिका रुजुका लागि मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदी आफैँ खटिएका छन्। दलीय बैठक डाक्ने तयारी समेत नभएकाले गणना ढिलाई हुन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिए। केही गाउँपालिकामा भने रातिबाटै गणना सुरु हुन सक्ने बताए।
धनुषाको जनकपुर उपमहानगरपालिकामा भने भोलि बिहान मात्रै मतगणना सुरु हुने भएको छ। दलहरुबीच बिहानबाट गणना गर्ने समझदारी बनेको हो।
सिराहाका मुख्य निर्वाचन अधिकृत अमृत बस्नेतले कति ठाउँमा मतगणना सुरु भयो भन्ने यकिन जानकारी नभएको बताए। उनले सिराहा नगरपालिकामा भने भोलि बिहानबाट मात्रै मतगणना सुरु गर्ने उल्लेख गरे।
सप्तरीमा पनि भोलि बिहानबाटै मतगणना गर्न दलहरु सहमत भएका छन्। दलका प्रतिनिधि थाकेको र सर्वदलीय बैठक राति सम्भव नभएकाले सप्तरीमा भोलि बिहान गणना गर्ने तयारी भएको हो। १८ वटै स्थानीय तहको मतपेटिका संकलन गरिएको भए पनि भोलि बिहान मात्र गणना सुरु गर्ने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी भैरव पाण्डेले जानकारी दिए।
रौतहटको गौर नगरपालिकामा राति ११ बजेबाट मतगणना हुने भएको छ। रौतहटकै अधिकाशं स्थानीय तहमा गणना सुरु गर्न निर्देशन दिइएको मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालले बताए।
सर्लाहीमा पनि दलहरुबीच मतगणना सुरु गर्ने विषमया छलफल भैरहेको एमाले जिल्ला अध्यक्ष रेवत पन्तले जानकारी दिए।