पर्सा जिल्लामा मतगणना सार्वजनिक भएका ६ स्थानीय तह मध्ये ३ वटामा एमाले २ वटामा माओवादी र १ वटामा संघीय समाजवादी फोरम अघि छन्।
पर्टेवा सुगौली, बिन्दवासीनि, सखुवा प्रसौनी, ठोरी र पकाहा मैनपुर गाउँपालिकामा चुनावि परिणाम सार्वजनिक भएका छन्। ठोरी र पकाहामा माओवादी र अरुमा एमाले अघि छ।
नगरपालिकामा भने पोखरियाले मात्र आफ्नो प्रारम्भिक मतपरिणाम निकालेको छ। जहाँ संघीय समाजवादी अघि छ। उसले मेयर र उपमेयरमा ८०/८० मत ल्याएको छ। माओवादीले यहाँ २०/२० मत ल्याएर दोस्रो स्थानमा छ। यहाँ नेपाल जनतादल पनि दोस्रो छ। जसले मेयर उपमेयरमा २०/२० मत ल्याएको छ।
पर्टेवा सुगौली गाउँपालिकामा एमालेले ४ सय ९० मत ल्याएर अघि छ उसलाई कांग्रेसले ३०५ का साथ पछ्याइरहेको छ।
पछिल्लो मतपरिणामअनुसार बिन्दवासिनी गाउँपालिकाको अध्यक्षमा एमालेका गौरीशंकर साह ३६६ मतसहित अगाडि छन् भने कांग्रेसका उम्मेदवार चन्द्रकिशोर चौरसिया १७७ मतसहित उनलाई पछ्याइरहेका छन्।
त्यस्तै सखुवा प्रसौनीमा पनि एमालले नै अग्रता लिएको छ। उसले १ सय ३४ मत ल्याएको छ भने संघीय समाजवादी फोरमले १ सय १७ मत पाएको छ।
ठोरी गाउँपालिकामा, माओवादी केन्द्रले अग्रता लिएको छ उसले २ सय २४ मत पाएको छ भने कांग्रेसले २ सय ७ मत ल्याएको छ। पकाहा मैनपुर गाउँपालिकाको १ सय मत गन्दा माओवादीले ५७ मत ल्याएर पहिलो र एमालेले ६ मत ल्याएर दोस्रो भएका छन्।