वीरगन्ज महानगरपालिकामा मतगणना छिटो सक्न ११ वटा समूह बनाएर गणना गर्ने तयारी भइरहेको छ।
भारतसँगको प्रमुख भन्सार नाका रहेको वीरगन्जमा बढीमा एक साताभित्र गणना पूरा गर्ने उद्देश्य रहेको पर्साका निर्वाचन अधिकृत हुमनाथ पराजुलीले जानकारी दिए। उनका अनुसार यहाँ मंगलबार २ बजे गणना सुरु भएको हो। प्रारम्भिक नतिजा आउन बाँकी छ।
पराजुलीका अनुसार १ र ३२ नम्बर वडाको गणना भइरहेको छ भने केही बेरमै २ र ३१ वडाको गणना सुरु हुँदैछ। यसबाहेक मंगलबार रातिसम्म थप तीनवटा समूह खडा गरी सातवटा वडाको मत सँगसँगै गन्न थालिनेछ।
‘आज रातभरिमा ७ वटा समूह खडा गरिनेछ भने भोलि थप चार समूह बनाएर ११ वटा वडाको सँगसँगै मतगणना गरिनेछ,’ पराजुलीले सेतोपाटीसँग टेलिफोनमा भने, ‘बढीमा एक साताभित्र गणना सकेर नतिजा घोषणा गर्ने हाम्रो उद्देश्य छ।’
वीरगन्ज महानगरपालिकामा १ लाख ८ हजार मतदाता रहेकोमा ८४ हजार मत खसेको पराजुलीले बताए।