वीरगन्ज महानगरपालिकाको अहिलेसम्मको मतगणनाअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) मा नेपाली कांग्रेसलाई उछिनेर अग्रता लिएको छ।
साढे ७ बजेसम्मको गणनाअनुसार राजपा नेपालका राजेशमान सिंह ८३ मत ल्याएर अग्रस्थानमा छन्। यसअिघको नतिजामा उनी एक मतले पछाडि थिए। उनलाई नेपाली कांग्रेसका अजयकुमार द्विवेदीले ७६ मतका साथ पछ्याइरहेका छन्। संघीय समाजवादी फोरमका विजयकुमार सरावगी ५७ मत ल्याएर तेस्रो स्थानमा छन्।
वीरगन्ज महानगरपालिकामा मतगणना छिटो सक्न ११ वटा समूह बनाएर गणना गर्ने तयारी भइरहेको छ।
भारतसँगको प्रमुख भन्सार नाका रहेको वीरगन्जमा बढीमा पाँच दिनभित्र गणना पूरा गर्ने उद्देश्य रहेको पर्साका प्रमुख निर्वाचन अधिकृत हुमनाथ पराजुलीले जानकारी दिएका छन्। उनका अनुसार यहाँ मंगलबार २ बजे गणना सुरु भएको हो।
पराजुलीका अनुसार १ र ३२ नम्बर वडाको गणना भइरहेको छ भने केही बेरमै २ र ३१ वडाको गणना सुरु हुँदैछ। यसबाहेक मंगलबार रातिसम्म थप तीनवटा समूह खडा गरी सातवटाको वडाको मत सँगसँगै गन्न थालिनेछ।
‘आज रातभरिमा ७ वटा समूह खडा गरिनेछ भने भोलि थप चारवटा समूह बनाएर ११ वटा वडाको सँगसँगै मतगणना गरिनेछ,’ पराजुलीले सेतोपाटीसँग टेलिफोनमा भने, ‘बढीमा पाँच दिनभित्र गणना सकेर नतिजा घोषणा गर्ने हाम्रो उद्देश्य छ।’
वीरगन्ज महानगरपालिकामा १ लाख ८ हजार मतदाता रहेकोमा ८४ हजार मत खसेको पराजुलीले बताए।