प्रदेश नम्बर २ का पाँच ठूला सहरमध्ये नेकपा एमाले र राजपा नेपाल दुई–दुई स्थानमा अगाडि छ भने एउटा सहरमा संघीय समाजवादी फोरम अगाडि छ।
वीरगन्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिका, लहान, कलैया र जीतपुर सिमरा नगरपालिकामा हालसम्म प्राप्त नतिजाअनुसार वीरगन्ज, जनकपुर र कलैयाबाहेक बाँकी दुई स्थानमा एमाले अगाडि छ।
मधेस आन्दोलनको केन्द्र रहेको लहान नगरपालिकामा एमाले १०१४ मत ल्याएर अगाडि छ भने राप्रपा ८६९ मतका साथ उसलाई पछ्याइरहेको छ। तेस्रो स्थानमा रहेको संघीय समाजवादीले ८३८ मत ल्याएको छ। यहाँ नेपाली कांग्रेस ८०४ मतका साथ चौथो स्थानमा छ।
जीतपुर सिमरा नगरपालिकामा पनि एमाले ८७५ मतका साथ अगाडि छ। दोस्रो स्थानको नेपाली कांग्रेसले ६०८ मत ल्याएको छ भने माओवादी केन्द्र ५५६ मतका साथ तेस्रो स्थानमा छ।
कलैया नगरपालिकाबाट प्राप्त प्रारम्भिक नतिजामा समाजवादी फोरमले १२८ मत ल्याएको छ भने एमाले ८८ मत ल्याएर पछ्याइरहेको छ। यहाँ कांग्रेसको ६३ मत आएको छ।
मधेस आन्दोलनको केन्द्र रहेको वीरगन्ज र जनकपुरमा भने राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सबभन्दा अगाडि छ। प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जको वडा नम्बर १, २, ३१ र ३२ का २००/२०० वटा मतपरिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
राजपाबाट मेयर पदका उम्मेदवार राजेशमान सिंह २३७ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। १९६ मत प्राप्त गर्दै नेपाली कांग्रेसका अजय द्विवेदी दोश्रो स्थानमा छन्। संघीय समाजवादी फोरम नेपालको तर्फबाट विजय कुमार सरावगीले १३९ मत हासिल गर्दै तेस्रो स्थानमा छन् भने १०३ मत हासिल गर्दै माओवादी केन्द्रका रहबर अन्सारी चौथो स्थानमा छन्।
७२ मत ल्याउदै नेकपा एमालेका बसरुद्दीन अन्सारी पाँचौ स्थानमा छन् । त्यसैगरी ७० मत मात्रै प्राप्त गर्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार विमल श्रीवास्तव अन्तिम स्थानमा छन् ।
त्यस्तै, धनुषाको जनकपुर उपमहानगरपालिकाको मेयरमा राजपा उम्मेदवार लालकिशोर साहले आफ्नो अग्रता बढाएका छन्।चार वटा वडाको ८ सय मत गन्दा साहले ४३२ भोट पाएका छन्। उनलाई पछयाइरहेका कांग्रेस उम्मेदवार मनोज साहले १५६ मत ल्याएका छन्।
तेस्रो स्थानमा रहेका एमालेका लक्ष्मीनारायण भगत ३१ मत पाएका छन्। त्यसैगरी संघीय समाजवादी फोरमका उम्मेदवारले १० र माओवादी उम्मेदवारले पाँच भोट पाएका छन्।