प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणामअनुसार नेकपा एमाले दोस्रो स्थानमा छ। जारी मत गणनामा एमालेले १८ स्थानीय तहमा आफ्नो अग्रता कायम राखेको छ।
बाराको जितपुर सिमरा उपमहानगरपालिको मेयरमा एमाले उम्मेदवारले आफ्नो अग्रता बढाउँदै लगेका छन्। बाराकै निजगढ नगरपालिका र आदर्शकोटहवा गाउँपालिकामा पनि एमालेको अग्रता छ।
सिरहाको सुखीपुर नगरपालिका, लहान नगरपालिका, कर्जना नगरपालिका, नवराजपुर गाउँपालिका, सखुवानानकारकट्टी गाउँपालिका र विष्णुपुर गाउँपालिकामा एमालेको अग्रता कायम रहेको छ।
सर्लाहीको हरिवन नगरपालिका र ईश्वरपुर नगरपालिकामा एमाले उम्मेदवार अगाडि छन्। पर्साको पटेरुवा सुगौली गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकामा पनि एमालेले अग्रता लिइरहेको छ।
रौतहट सदरमुकाम गौर नगरपालिकाको मेयरमा पनि एमाले उम्मेदवार अगाडि छन्। रौतहटकै यमुनामाई गाउँपालिका अध्यक्षमा एमालेको अग्रता छ।
सप्तरीको सप्तकोशी नगरपालिकामा एमाले उम्मेदवारले अग्रता लिइरहेका छन्। त्यस्तै, धनुषाको मिथिला नगरपालिकामा पनि एमाले उम्मेदवार अगाडि छन्।