स्थानीय तह निर्वाचनमा एमाले पूर्वमहासचिव तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृहजिल्ला रौतहटमै एमाले पछि परेको छ।
अपेक्षा गरेको जिल्ला सदरमुकाम गौरमा पनि राजपाले अग्रता लिएपछि एमाले अहिलेसम्म जिल्लामै अग्रताबिहिन भएको छ।
१५ स्थानीय तहको मतगणना जारी रहँदा सदरमुकाम गौरबाहेक अन्य स्थानमा एमाले प्रतिस्पर्धामा आउन सकेन। गौर नगरपालिकाको प्रमुखमा भने राजपाले अग्रता लिएपनि एमाले उम्मेदवार प्रतिस्पर्धामै छन्।
राजपाको अग्रता उल्ट्याउन सके गौर एमालेका लागि प्रतिष्ठाको जित बन्ने छ।
रौतहटका ८ स्थानीय तहमा अग्रता लिँदै कांग्रेस सबैभन्दा बलियो देखिएको छ। कांग्रेसले फतुवा-विजयपुर, राजदेवी, चन्द्रपुर, बृन्दाबन, गरुडा, गुजरा र राजपुर नगरपालिका प्रमुखमा अग्रता लिइरहेको छ। यहाँको दुर्गा भगवती गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेसकै अग्रता छ।
संघीय समाजवादी फोरमले ३ स्थानमा अग्रता लिइरहेको छ। देवाही गोनाडी, बौद्धिमाई र माधवनारायण नगरपालिकाको मेयरमा फोरमले अग्रता लिइरहेको छ।
राजपा र माओवादीले २-२ स्थानमा अग्रता लिइरहेका छन्।
गढीमाई र गौर नगरपालिकाको प्रमुखमा राजपा उम्मेदवार अगाडि छन्। कटहरिया नगरपालिका र यमुनामाई गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिइरहेको छ।
जिल्लाको ३ स्थानीय तहको मतपरिणाम आइसकेको छ। परोहामा कांग्रेस, मौलापुरमा माओवादी र ईशनाथमा लोकतान्त्रिक फोरमले जित हात पारिसकेका छन्।