दुई नम्बर प्रदेशको एक मात्र महानगरमा राजपालाई उछिन्दै संघीय समाजवादी फोरम दोस्रो स्थानमा उक्लिएको छ।
दुईपक्षीय भीडन्त हुने भनिएको वीरगन्ज महानगरको पछिल्लो परिणाम अनुसार त्रिपक्षीय हुने भएको हो।
निर्वाचन आयोगले उपलब्ध गराएको ताजा मतपरिणाम अनुसार वीरगन्ज महानगरपालिकाको मतगणना सुरु भएदेखि तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरम नेपालले कहिलो पहिलो र कहिले दोस्रोमा रहने राजपाका उम्मेद्वारालई उछिनेको हो।
महानगरमाको ११ वटा वडामा २३ हजार ४ सय ९८ मत मतगणना हुँदा पहिलो पटक राष्ट्रिय जनता पार्टीलाई उछिन्दै मेयर र उप-मेयर दुवै पदमा सानो मतान्तरले फोरम नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको हो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामका अनुसार नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार अजय कुमार द्विवेदी ४ हजार ९ सय ४९ मत प्राप्त गरेका छन् भने उप-मेयरमा शान्ति कार्कीले ५ हजार ७ सय ७४ मत प्राप्त गर्दै पहिलो स्थानमा आफ्नो वर्चस्व कायम राखेका छन् ।
त्यसैगरी सुरू देखि तेश्रो स्थानमा रहँदै आएको संघीय समाजवादी फोरम नेपालले पहिलो पटक मेयरमा राष्ट्रिय जनता पार्टीलाई ४३ मतको झिनो मतान्तरले उछिन्दै दोस्रो स्थानमा पुगेको छ। फोरम नेपालको मेयर पदका उम्मेदवार विजय कुमार सरावगीले ४ हजार ३ सय ४४ मत प्राप्त गरेको छ। राजपाका उम्मेदवार राजेशमान सिंहले फोरमलाई पछ्याउदै ४ हजार ३ सय १ मत प्राप्त गरेका छन्। राजपा अहिले तेस्रो स्थानमा पुगेको छ ।
प्रमुख पदमा नेकपा माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी २ हजार ७ सय ४३, नेकपा एमालेका बसरूद्दीन अन्सारी २ हजार १ सय ३२, नेपाल लोकतान्त्रिक दलका विमल प्रसाद श्रीवास्तव १ हजार ५ सय १० मत ल्याउँदै क्रमस चौथो र पाँचौ स्थानमा छन्।