प्रदेश नम्बर २ को एक मात्र महानगरपालिकाम मतगणना रोचक बन्दै गएको छ।
मतगणनाको प्रारम्भमा अग्रता लिएको राष्ट्रिय जनता पार्टीका उम्मेदवार पछिल्लो समयमा तेस्रो स्थानमा पुगेका छन्।
निकै सुस्त गतिमा भइरहेको वीरगन्ज महानगरपालिकाको मतगणना अनुसार अहिलेसम्म ३० हजार मात्र मतगणना भइसकेको छ। जसमा मेयरमा नेपाली कांग्रेसका अजय द्विवेदी अहिलेसम्म अग्रस्थानमा छन्। उनले ६४०३ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेका संघीय समाजवादी फोरमका विजय सरावगीले ६१८१ मत प्राप्त गरेका छन्। यस्तै तेस्रो स्थानमा रहेका राजपाका राजेशमान सिंहले ४७४१ मत पाएका छन्। यस्तै चौथोमा रहेको माओवादीका रहबर अन्सारीले ३४२१ मत ल्याउँदा पाँचौ स्थानमा रहेका एमालेका बसरूद्धिन अन्सारीले ३१३७ मत ल्याएका छन्।
यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसले अग्रता बढाएको छ। कांग्रेसकी उम्मेद्वारले ७३३१ मत ल्याउँदा फोरम नेपालकी उम्मेद्वारले ६०६५ मत मात्र ल्याएकी छन्। यस्तै तेस्रो स्थानमा रहेकी रापजाकी उम्मेद्वारले ४००७ मत ल्याएकी छन्।
तीन वटा उपमहानगर रहेको दुई नम्बर प्रदेशमा जनकपुर उपमहानगरपालिका राष्ट्रिय जनता पार्टी एकलौटी अग्रता बढाएको छ।
सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार राजपाले कांग्रेसलाई ९ हजार ६ सय ४१ मतले पछि पारेको छ। राजपका मेयर उम्मेद्वार लालकिशोर साहले १४ हजार १ सय २९ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका मनोज साहले भने ५ हजार ४ सय ८८ मत मात्रै पाएका छन्।
तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार लक्ष्मीनारायण भगतले १ हजार ८८ मत पाएका छन् । उपमेयरमा पनि राजपा नै अगाडि रहेको छ ।
बाराको दुई उपमहानगर कलैया र जितपुर–सिमरामा भने एमालेले अग्रता कायमै राखेको छ।
कलैया उपमहानगरपालिकामा एमालेले ७३ मतको अग्रता लिएको छ। उसले ४०७२ मत पाउँदा संघीय समाजवादी फोरमले ३९९९ र कांग्रेसले ३६५९ मत पाएका छन्।
जितपुर–सिमरा उपमहानगरपालिकामा भने एमालेले ११ हजार ५७३ मत पाउँदा नेपाली कांग्रेसले ९९७१ र माओवादी केन्द्रले ८४४८ मत पाएका छन्।