संसदको सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेस पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा दोस्रो स्थानमा झर्यो। प्रदेश नम्बर २ मा भएको तेस्रो चरणको चुनावमा भने उसले आफूलाई पहिलो पार्टी दाबी गर्दै आएको थियो।
चुनावी नतिजा आउने क्रम जारी छ। अहिलेसम्मको नतिजा अनुसार कांग्रेस पहिलो स्थानमै छ।
पहिलो र दोस्रो चरणको चुनावमा पहिलो पार्टी बनेको एमाले तराईमा चौथोका लागि प्रतिस्पर्धामा छ।
अहिलेसम्मको नतिजामा ३२ स्थानीय तहमा कांग्रेसले जितिसकेको छ र नतिजा आउन बाँकी ३३ ठाउँ मध्ये ८ वटामा कांग्रेस अघि छ।
उसले कसलाई पछि पार्दै चुनाव जितेको छ त?
३२ ठाउँमा जित्दा उसले सबै भन्दा धेरै एमालेका उम्मेदवारहरुलाई पराजित गरेको देखियो। ८ जिल्लाभरका ११ ठाउँमा कांग्रेसले एमालेलाई हरायो।
पर्सामा १, बारामा १, रौतहटमा ३, सप्तरीमा ३ र धनुषामा ३ गरि ११ स्थानीय निकायमा कांग्रेसले एमालेलाई हराएको हो।
त्यसपछि कांग्रेसले राजपाका उम्मेदवारलाई धेरै हराएको छ। अहिलेसम्म ९ ठाउँमा कांग्रेसले राजपालाई पराजित गरेको छ। बारामा १, रौतहटमा २, सर्लाहीमा १, सिराहामा १, धनुषामा १ र महोत्तरीमा ३ स्थानीय तह गरि ९ मा कांग्रेसले राजपालाई जित्यो।
त्यस्तै उसले माओवादीलाई रौतहटका ३, सर्लाहीका ३ र सप्तरीका १ स्थानीय तह गरि ७ ठाउँमा पराजित गरेको छ।
जितका हिसाबले मधेसमा कांग्रेसको मुख्य प्रतिस्पर्धी संघीय समाजवादी फोरम देखिएको छ। संघीय समाजवादीलाई कांग्रेसले जम्मा ५ ठाउँमा पराजित गर्न सक्यो। सिराहाको १,धनुषाका ३ र बाराको १ ठाउँमा कांग्रेसले संघीय समाजवादी फोरमलाई पराजित गरेको छ।