नेपालको राष्ट्रियता र स्वाभिमानको क्षेत्रमा नेकपा एमालेले लिएका अडानकै कारण अहिले निश्छल र निश्लङ्क राष्ट्रवादी सोच भएका व्यक्तिहरु अन्य पार्टी छोडेर एमालेमा धमाधम आउन थालेको एमाले उपाध्यक्ष बामदेव गौतमले बताएका छन्।
नेकपा एमाले दाङले सोमवार घोराहीमा आयोजना गरेको ‘नवप्रवेशीको स्वागत तथा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
यहि कार्यक्रममा लोकगायीका कोमल वली राप्रपाको केन्द्रिय सदस्य त्याग गर्दै एमालेमा प्रवेश गरेकी छन्।
नेकपा एमाले पार्टी उर्लदो समुन्द्र जस्तै भएको चर्चा गर्दै उनले अहिले देशव्यापी रुपमा एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको दाबी गरे।
'भारतीय नाकाबन्दीसँगै अहिलेसम्म एमाले कतैपनि जनताको शिर झुक्ने काम गरेको छैन,' उनले भने, 'एमाले राष्ट्रवादी शक्तिको साझा घर हो।'
गौतमले यहि कार्यक्रममा कांग्रेसको खोक्रो लोकतन्त्रले देश नचल्ने पनि बताए।
'यथास्थितिवादी कांग्रेससँग खोक्रो लोकतन्त्र मात्रै छ, त्यसले नेपाल र नेपाली जनताको समृद्धि हुन सक्दैन,' उनले भने।