विगत सय दिनभन्दा बढीदेखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलन र दार्जिलिङ बन्द कार्यक्रम आन्दोलनकारीहरुले फिर्ता लिएका छन्।
भारतको केन्द्रीय सरकारका गृहमन्त्री राजनाथ सिंहको आग्रहमा उक्त आन्दोलन र बन्द कार्यक्रम फिर्ता गरिएको सरकारी अधिकारीहरुले बताएका छन्।
दार्जिलिङ बन्द स्थगित भएपछि त्यहाँ र आसपासका सबै ठाउँका जनजीवन बुधबार बिहानदेखि पहिलाजस्तै सामान्य भएको छ।
पश्चिम बंगालबाट टुक्रिई दार्जिलिङ र आसपासका क्षेत्रलाई एक छुट्टै राज्य गोर्खाल्याण्ड स्थापना हुनुपर्ने मुख्य माग राख्दै गोर्खा जनमुक्ति मोर्चाको अगुवाईमा एकसय दिनभन्दा बढीसम्म लगातार जनआन्दोलन चलिरहेको थियो।
गोर्खा जनमुक्ति मोर्चाका प्रमुख नेता बिमल गुरुङले पार्टीका अन्य नेतासँग सल्लाह गरी एक रेडियो वक्तव्यमार्फत् अनिश्चित कालसम्मका लागि आन्दोलन र बन्दको कार्यक्रम फिर्ता घोषणा गरेका जनाइएको छ।
दशैं तिहारजस्ता ठूला चहाड, पर्वलाई ध्यानमा लिई सामाजिक शान्ति र सद्भाव कायम राख्न आन्दोलन स्थगित गरिएको जनाइएको छ।
गत मंगलबार केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले आन्दोलनरत नेताहरुलाई 'प्रजातान्त्रिक राष्ट्रमा जस्तोसुकै गम्भीर राजनीतिक समस्या पनि वार्ताद्वारा समाधान निकाल्न सकिने' भन्दै आन्दोलन र बन्द फिर्ता लिन आह्वान गरेका थिए।
आन्दोलन र बन्द अवधिमा हिंसा भड्किँदा एघार जनाको ज्यान गएको र थुप्रै आन्दोलनकारी घाइते भएका थिए। यसै अवधिमा व्यापारिक र पर्यटकीय गतिविधि ठप्प हुँदा दार्जिलिङले ठूलो आर्थिक क्षतिसमेत बेहोर्नु परेको थियो। रासस/सिन्ह्वा