सप्तरीको राजविराज नगरपालिका प्रमुखमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल विजयी भएको छ ।
राजपा नेपाल उम्मेदवार शम्भु यादव ४ हजार ७ सय ७४ मत प्राप्त गरी विजयी भएका हुन्। शम्भु मात्र १५ मत बढी ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका भीमराज यादवले ४ हजार ७ सय ५९ मत पाए।
यस्तै उपप्रमुखमा पनि राजपा नेपालकै साधना झा ५ हजार १ सय ९५ मत प्राप्त गरी विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी फोरम नेपालकी किरण साहले ४ हजार २६९ मत पाइन्।
योसँगै तेस्रो चरणको स्थानीय तह निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ।
प्रदेश नं २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा असोज २ गते निर्वाचन भएको थियो।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार स्थानीय तह प्रमुख, अध्यक्ष पदमा नेपाली काँग्रेस ४०, संघीय समाजवादी फोरम नेपाल २६, राष्ट्रिय जनता पार्टी (राजपा) २५, नेकपा माओवादी केन्द्र २१, नेकपा एमाले १८, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार एक स्थानमा विजयी भएका छन्। रासस