राजपाका प्रभावशाली नेताहरू हृदयेश त्रिपाठी, बृजेशकुमार गुप्ता लगायत पाँच जनाले स्वतन्त्र रूपमा रहेर एमालेबाट निर्वाचन लड्ने घोषणा गरेका छन्।
व्यवहारिक रूपमा उनीहरूले स्वतन्त्र रहने भनेपनि निर्वाचनमा एमालेको चिन्ह प्रयोग गरेपछि उनीहरू एमालेकै आधिकारिक उम्मेदवार हुनेछन् र, जिते भने एमाले सांसद हुनेछन्।
निर्वाचन कानुनअनुसार कुनै पार्टीको निर्वाचन चिन्ह लिएर लडेको व्यक्ति त्यही पार्टीको हुन्छ।
राजपा गठनपछि नै असन्तुष्ट नेता हृदयेश र वृजेशका साथै पशुपतिदयाल मिश्र, इश्वरदयाल मिश्र र जगदीश शुक्लले सोमबार राजपा त्यागेका हुन्।
संसद सचिवालयका एक अधिकारीले भने यसरी निर्वाचन जितेर आउनेहरूलाई पार्टीको ह्वीपलाग्ने सेतोपाटीलाई बताए। उनकाअनुसार पार्टी निर्वाचन चिन्हबाट जितेर आउने सांसदले पार्टीको ह्वीप उल्लंघन गरेमा पार्टीले कारबाही गर्नसक्छ।
एमालेलाई लागेको मधेस विरोधीको आरोप आफूलाई पनि लाग्छ भनेर उनीहरू घुमाउरो बाटो हुँदै एमाले प्रवेश गरेका हुन्। स्वतन्त्र रूपमै निर्वाचन लड्न चाहेको भए उनीहरू स्वतन्त्र उम्मेदवार बन्न पाउँछन्।
तर, पार्टी दर्ता गर्ने समय नभएकाले उनीहरूले सूर्य चिन्ह लिएर निर्वाचन लड्ने घोषणा गरेका हुन्। थ्रेसहोल्ड प्रावधानले पनि उनीहरूलाई नयाँ पार्टी गठन गरेर अघि बढ्न अप्ठ्यारो भएको छ।