नेपाली कांग्रेसले एमाले-माओवादी तालमेल र एकता हुने सहमतिलाई अस्वभाविक र मुलुकको हित विपरित भनेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकमा वाम एकीकरणको सहमति संविधान कार्यान्वयनको हितमा नरहेको टिप्पणी उठेको नेता विमलेन्द्र निधिले जानकारी दिएका छन्।
यो गठबन्धन अस्वभाविक भएको पनि टिप्पणी बैठकमा उठेको थियो। एमाले नेता केपी ओलीको पहलमा भएको एकीकरणको सहमति बैचारिकरुपमा यसअघि नै काम नलाग्ने भैसकेको टिप्पणी नेताहरुले गरेको नेता प्रकाश शरण महतले बताए।
'केपी ओलीको पहलमा जुन एकीकरण भएको छ यो अस्वभाविक छ। यसले राष्ट्रका सामु विद्यमान जति पनि महत्वपूर्ण मुद्दाहरु छन् त्यसलाई सम्बोधन गर्न सक्दैन,' महतले भने, 'फेल भैसकेको आइडियोलोजी साम्यवाद स्थापना गर्ने मान्यताका साथ एमालेको पहलमा यो आएको छ। यसले देशलाई सहयोग गर्दैन भन्ने कांग्रेसको धारणा छ।'
वामपन्थी दलहरु एकीकरण भएपछि कांग्रेसले पनि लोकतान्त्रिक शक्तिहरुबीच तालमेल गरेर अघि बढ्नुपर्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाको थियो।
निधिका अनुसार, प्रधानमन्त्री देउवाले लोकतान्त्रिक शक्तिहरुबीच गठबन्धन गर्न आफूले पहल गरिरहेको जानकारी बैठकमा दिएका थिए। संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक जस्ता दलहरुसँग तालमेलबारे आफूले छलफल गरेको देउवाले पार्टीलाई जानकारी गराएका थिए।
वाम पार्टीको एकीकरण पछिको अवस्था कांग्रेसका लागि चुनौतीपूर्ण भए पनि पार्टी एकताबद्ध भएर निर्वाचनमा जाने कांग्रेसले जनाएको छ।
'वाम एकताले कांग्रेसका सामु जुन चुनौती खडा गरेको छ, त्यसलाई अवसरका रुपमा लिएर अघि बढ्ने। झन् एकता र उत्साहका साथ चुनावमा जाने भन्ने धारणा अधिकांश नेताहरुको आएको छ। कांग्रेस त्यसै अनुसार अघि बढ्छ,' नेता महतले भने।