प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा लोकतान्त्रिक राष्ट्रवादी र प्रगतिशील शक्तिहरुसँग तालमेल गरेर अघि बढ्नुपर्ने प्रस्ताव आफ्नो पार्टीमा राखेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कांग्रेस कार्यसम्पादन बैठकमा उनले यस्तो प्रस्ताव गरेको नेता प्रकाश शरण महतले सेतोपाटीलाई जानकारी दिए।
प्रधानमन्त्री देउवाले लोकतान्त्रिक शक्तिहरुबीच गठबन्धन गर्न आफूले पहल गरिरहेको जानकारी पनि बैठकमा दिएका थिए। संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक जस्ता दलहरुसँग तालमेलबारे आफूले छलफल गरेको पनि सभापतिले जानकारी गराउनुभएको थियो,' महतले भने, 'उनीहरुसँग आजै साँझ पनि छलफल गर्दैहुनुहुन्छ।'
पार्टीको आन्तरिक एकतामा जोड दिँदै देउवाले उत्साहका साथ चुनावमा जान सबै नेतालाई आग्रह गरेको पनि उनले बताए।
उक्त बैठकमा बामशक्तिबीचको एकतालाई अस्वभाविक भन्दै यो सहमति संविधान कार्यान्वयनको हितमा नरहेको टिप्पणी नेताहरुले गरेका थिए।
'केपी ओलीको पहलमा जुन एकीकरण भएको छ यो अस्वभाविक छ, यसले राष्ट्रका सामु विद्यमान जति पनि महत्वपूर्ण मुद्दाहरु छन् त्यसलाई सम्बोधन गर्न सक्दैन,' महतले भने, 'फेल भैसकेको आइडियोलोजी साम्यवाद स्थापना गर्ने मान्यताका साथ एमालेको पहलमा यो आएको छ देशलाई सहयोग गर्दैन भन्ने कांग्रेसको धारणा छ।'