एमाले र माओवादी केन्द्रले अब आउने संघीय संसद र प्रदेश चुनावमा सबै निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्ने सहमति गरेका छन्। चुनावी तालमेल हुँदै पार्टी नै एकीकरणका सहमति पनि उनीहरूले गरेका छन्।
केही साना दललाई ठाँउ छोडेर बाँकी स्थानमा एमालेले ६० प्रतिशत निर्वाचन क्षेत्रमा र माओवादीले ४० प्रतिशतमा चुनाव लड्ने सहमति बनेको छ।
यसरी मुलुकका तीनमध्ये दुई प्रमुख राजनीतिक शक्तिले चुनावी तालमेल गरेपछि आउने चुनावमा कति सिट जित्लान् भन्ने चासो बढेको छ।
कति सिट जित्छन् भन्ने अन्दाज गर्ने एउटा आधार गत २०७० सालको निर्वाचन हो। पछिल्लो स्थानीय तह निर्वाचनले पनि संकेत गरेको छ- यसपालिको संसदीय चुनावमा एमाले र माओवादी दुवै पार्टीले २०७० सालको भन्दा धेरै मत ल्याउँछन्। किनभने, स्थानीय तह चुनावमा उनीहरुको मत प्रतिशत केही बढेको छ।
त्यसोभए, ०७० सालमा नै एमाले-माओवादी मिलेर चुनाव लडेका भए प्रत्यक्ष तर्फ कति सिट जित्थे होला?
हामीले यही प्रश्नको उत्तर खोज्न, ०७० सालको २४० वटै निर्वाचन क्षेत्रको परिणाम विश्लेषण गरेका छौं।
छुट्टाछुट्टै लड्दा पनि ०७० सालको संसदीय निर्वाचनमा एमालेले प्रत्यक्ष तर्फ ९० र माओवादीले २६ सिट जितेका थिए।
थप ८३ निर्वाचन क्षेत्रमा एमाले र माओवादीको मत जोड्दा यी क्षेत्रमा जित्ने उम्मेदवारको भन्दा धेरै मत पुग्छ। यसको अर्थ दुवै पार्टी मिलेर चुनाव लडेको भए यी ८३ क्षेत्रमा पनि उनीहरुले नै जित्ने थिए।
यसरी हिसाब गर्दा, ०७० सालको निर्वाचनमा यी दुई पार्टी मिलेर लडेको भए २४० मध्ये १९९ सिट अर्थात झण्डै ८३ प्रतिशतमा जित हासिल गर्ने थिए। नेपाली कांग्रेस ३२ स्थानमा खुम्चिन्थ्यो भने अन्य दलले ९ सिट मात्र जित्ने थिए।
प्रदेशको तथ्यांक विश्लेषण गर्दा १ नम्बर प्रदेशअन्तर्गत पर्ने १४ जिल्लाका ४४ निर्वाचन क्षेत्रमा दोश्रो संविधानसभामा एमालेले २३ स्थानमा जितेको थियो। माओवादी १ स्थानमा र कांग्रेस १७ स्थानमा विजयी भएको थियो ।
संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम र राप्रपा प्रजातान्त्रिक १–१–१ स्थानमा विजयी भएका थिए।
दुई पार्टीबीच गठवन्धन भएको भए यहाँ ४४ सिटमध्ये उनीहरूले ३७ सिट जित्ने र कांग्रेस ७ स्थानमा खुम्चिने थियो। यो प्रदेशमा अन्य कुनै पार्टीले एक सिट पनि जित्ने थिएन।
०७० सालमा प्रदेश नम्बर २ अन्तर्गत पर्ने ८ जिल्लाका ४८ निर्वाचन क्षेत्रमा कांग्रेसले सबैभन्दा बढी २१ स्थानमा विजय हासिल गरेको थियो। एमाले १४ र माओवादी ८ स्थानमा विजयी भएका थिए। राजपा ४ र लोकतान्त्रिक फोरम १ स्थानमा विजयी भएका थिए।
एमाले-माओवादी तालमेल भएको भए यो प्रदेशका ३८ स्थानमा उक्त गठवन्धनले जित्ने थियो। कांग्रेसले ६ र अन्य पार्टीले ४ सिट मात्र जित्ने थिए।
प्रदेश नम्बर ३ अन्तर्गत पर्ने १३ जिल्लाका ४५ निर्वाचन क्षेत्रमा ०७० सालमा कांग्रेसले २३ स्थानमा जितेको थियो। एमालेले १७ स्थानमा जितेको थियो भने माओवादीले ३, राप्रपा प्रजातान्त्रिकले १ र नेमकिपाले १ स्थानमा जितेका थिए।
एमाले-माओवादी गठवन्धन भएको भए ३ नम्बर प्रदेशमा ३७ स्थानमा जित्ने थिए।
बाँकी ८ सिटमध्ये कांग्रेसले ७ र नेमकिपाले १ जित्ने थिए।
प्रदेश नम्बर ४ अन्तर्गत पर्ने ११ जिल्लाका २६ निर्वाचन क्षेत्रमा ०७० सालमा कांग्रेस १४ स्थानमा विजयी भएको थियो। एमालेले ९ र माओवादीले ३ स्थानमा जितेका थिए।
दुई पार्टी मिलेको भए यहाँ उनीहरुले २४ स्थानमा जित हासिल गर्थे, कांग्रेस २ स्थानमा सिमित हुन्थ्यो।
त्यस्तै प्रदेश नम्बर ५ अन्तर्गत पर्ने १२ जिल्लाका ४१ निर्वाचन क्षेत्रमा कांग्रेस १७ स्थानमा विजयी भएको थियो। एमालेले १३ सिट जितेको थियो। माओवादी ४, राजपा ३, राप्रपा प्रजातान्त्रिक र संघीय समाजवादी फोरम १-१ स्थानमा विजयी भएका थिए।
एमाले-माओवादी तालमेल भएको भए यो प्रदेशका ३४ स्थानमा जित्ने थिए। बाँकी ७ ठाँउमध्ये कांग्रेसले ३ र अन्यले ४ ठाउँमा जित्ने थिए।
प्रदेश नम्बर ६ अन्तर्गत पर्ने १० जिल्लामा गत निर्वाचनमा १५ क्षेत्र थिए। यीमध्ये ६ क्षेत्रमा कांग्रेस विजयी भएको थियो। एमालेले ५ र माओवादीले ४ स्थानमा जितेका थिए।
दुई दल तालमेल भएका भए १ ठाउँमा कांग्रेस बाहेक सबैमा गठवन्धन विजयी हुने थियो।
त्यस्तै प्रदेश नम्बर ७ अन्तर्गत पर्ने ९ जिल्लाका २१ निर्वाचन क्षेत्रमा पछिल्लो पटक कांग्रेस र एमालेले ९–९ क्षेत्रमा विजय हासिल गरेका थिए। लोकतान्त्रिक फोरम २ र माओवादी १ ठाउँमा विजयी भएका थिए।
दुई दलको गठबन्धन भएको भए उनीहरुले १५ स्थानमा जित्ने थिए। बाँकी ६ ठाउँमध्ये ५ मा कांग्रेस र १ मा अन्य कुनैले जित्ने थियो।
यसपालि निर्वाचन क्षेत्र २ सय ४० बाट घटेर १६५ मा झरेको छ। त्यसमाथि अब कांग्रेस र अन्य पार्टीहरुले पनि गठबन्धन गर्नेछन्। प्रदेश नम्बर २ मा मधेसी पार्टीहरु यसपालि बलिया देखिएका छन्। त्यसैले ०७० सालकै जस्तो चुनाव परिणाम आउँछ भन्ने हैन।
तर, एमाले र माओवादीको मत जोड्दा ०७० सालको तुलनामा पछिल्लो स्थानीय चुनावमा उनीहरुको संयुक्त मत बढेको छ। त्यसले आउने चुनाव परिणाम पनि ०७० सालको भन्दा धेरै फरक पर्दैन भन्ने संकेत गर्छ।
यो पनिः