प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीलाई तत्काल नहटाउने भएका छन्।
सत्ताको नेतृत्व गरिरहेको कांग्रेसभित्र एमालेसँग मिलेर गठबन्धन बनाएको माओवादीलाई सरकारबाट हटाउनु पर्ने आवाज उठे पनि प्रधानमन्त्री देउवाले तत्काल त्यस्तो निर्णय नगर्ने भएका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले नयाँ सरकार गठन वा पुनर्गठन तथा माओवादीलाई हटाउने कुनै पनि तयारी नभएको बताए।
'माओवादीलाई सरकारबाट हटाउने भन्ने कुरा साँचो होइन। अहिलेसम्म त्यस्तो कुनै तयारी छैन,' उनले सेतोपाटीसँग भने, 'सरकार पुनर्गठन वा कसैलाई हटाउन सरकारले कुनै तयारी गरेको छैन सबै मन्त्रीले नियमित काम गरिरहेका छन्।'
माओवादी, एमाले र नयाँ शक्तिबीच एकता गर्ने सहमतिपछि कांग्रेसले पनि ६ दलसँग मिलेर चुनावी तालमेल गर्नेबारे छलफल गरिरहेको छ। माओवादीलाई हटाएर अहिलेकै गठबन्धनका आधारमा नयाँ सरकार गठन गर्नु पर्ने कतिपय नेताहरुको धारणा छ।
वाम गठबन्धन बन्ने भएपछिको आगामी चुनावमा पार्टीको रणनीति बनाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले चलिरहेको छ। शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठक डाकिएको छ।
कांग्रेस नेता प्रकाशशरण महतले सरकारबाट माओवादीलाई हटाउने बारे कांग्रेसले कुनै निर्णय नगरेको बताए।
'चुनावी तालमेलका लागि ६ दलसँग छलफल भएको हो। तर माओवादीलाई सरकारबाट हटाउने तयारी निर्णय कांग्रेसले गरेको छैन त्यस्तो कुनै तयारी पनि छैन,' उनले भने।
'अकस्मात' भएको वाम एकतापछि सरकारमा रहेको माओवादीलाई आफ्नो नेतृत्वको सरकारबाट हटाउनुपर्ने भन्ने आवाज कांग्रेस भित्र उठ्न थालेको छ। कांग्रेस नेता गगन थापाले सार्वजनिक रूपमै माओवादी मन्त्रीलाई बर्खास्त गर्नुपर्ने माग गरेका छन्।
हिजोदेखि चलिरहेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा माओवादी सरकारमा बसिरहन उचित नहुने भन्ने कुरा उठेको कांग्रेस नेता अर्जुननरसिंह केसीले बताए।
'माओवादीलाई सरकारबाट हटाउनुपर्छ भन्ने आवाज आएका छन्। यो विषय छलफलकै क्रममा छ,' उनले सेतोपाटीसँग भने, 'तर सरकारमा बस्ने/नबस्ने माओवादीको नैतिकताको कुरा भएकाले तत्काल माओवादी मन्त्रीहरुलाई सरकारबाट हटाउन नहुने भन्ने पनि कुरा आएका छन्। हामीले निर्णय भने गरिसकेको छैनौं।'