नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले चुनावी परिणामको हिसाब गरेर अहिलैदेखि जनतालाई निरास नबनाउन आग्रह गरेका छन्।
आजदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उनले पार्टीका नेताहरूले एमाले-माओवादी एकतापछिको चुनावी हिसाब गरेर अहिलेदेखि हारेको महसुस गर्न नहुने बताएका हुन्।
'एमाले-माओवादी गठबन्धनलाई लिएर चुनाव कसले जित्छ भन्ने हिसाब हामीले गरिरहेका छौँ। त्यो राम्रो हैन। चुनावी परिणाम गणितका आधारमा मात्रै आउँदैन। पार्टीले लिने 'पोजिसन'ले पनि भोट आउने हो। त्यसैले हामीले आफ्नो पोजिसन दह्रो र प्रष्ट बनाउनुपर्छ। आत्तिनु हुँदैन,' उनले भने।
एमाले-माओवादी मिले हामी हार्छौं भन्ने मानसिकता छोडेर अघि बढ्न उनले पार्टीलाई आग्रह गरेका छन्।
'एमाले-माओवादी गठबन्धन लिएर जुन कुरा हामीले गरिरहेका छौँ, हाम्रो मानसिकता त्यस्तो बनाइरहेका छौँ, त्यसले कार्यकर्ता निरास बनाउँछ। कांग्रेसले त्यसलाई चिरेर अघि बढ्नुपर्छ,' उनले भने।
अर्का केन्द्रीय सदस्य गगन थापाले एमाले-माओवादी गठबन्धनका कारणले कांग्रेस आत्तिनु नपर्ने बताएका छन्।
अहिले पनि कांग्रेस उदारवादी प्रजान्त्रको मूल्यमान्यता बोक्ने मुख्य पार्टी भएको विश्वास जनतालाई दिलाउन सके आत्तिनुपर्ने कुनै अवस्था नरहेको उनले बताएका हुन्।
'कांग्रेसले चुनावी तालमेल जुन बनाउँछ, त्यसले केही शक्ति आर्जन गर्ने हो। तर मूल कुरा कांग्रेसले अहिले जनतालाई उदार प्रजातान्त्रिक मूल्य त्यसको अभियानकर्ता कांग्रेस नै हो भनेर विश्वास दिलाउन सक्नुपर्छ,' उनले बैठकमा भने।
त्यो विश्वास भने कांग्रेसले बोलेर भन्दा पनि निर्णय गरेर काम गरेर देखाउनुपर्ने उनको धारणा थियो।
'अहिले नै पनि हामी सरकारमा बस्छौँ। योबेला हामीले कस्ता निर्णय गर्छौँ, संसदमा दर्जनौँ विषय छन् त्यसमा कांग्रेसले कस्तो अडान लिन्छ भन्ने कुरा हो। त्यो जनताले मूल्यांकन गरिरहेका हुन्छन्। हाम्रो ध्यान आजैदेखि ती विषयमा जानुपर्छ,' उनले भने, 'चुनावका बेला हामीनै प्रजातान्त्रिक मूल्यमान्यता बोक्ने मुख्य पार्टी हौँ भन्ने अझै प्रमाणीत गर्दै गयौँ भने हामीले आत्तिनुपर्ने कुरा छैन।'
उक्त बैठकमा दिलेन्द्र बढु, वीरबहादुर वलायर लगायत केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए।
आजदेखि चलेको बैठकमा कांग्रेस महामन्त्री शशांक कोइरालाले ४ वटा प्रस्ताव छलफलका लागि पेश गरेका छन्।
'एमाले-माओवादी एकता सत्ता स्वार्थबाट प्रेरित छ जसले संविधान कार्यान्वयन र प्रजातान्त्रिक मूल्यलाई नै चुनौती दिन्छ त्यसलाई सफल हुन नदिने' भन्ने उनले पेश गरेको पहिलो प्रस्ताव हो।
'आसन्न प्रतिनिधि सभाको निर्वाचनमा प्रजातान्त्रिक मूल्य बोकेका र आफूसँग विचार मिल्नेसँग कांग्रेसले तालमेल गर्ने' भन्ने दोस्रो प्रस्ताव छ।
त्यस्तै, 'असोज २५ गते भित्र प्रतिनिधिसभाको लागि उम्मेदवारी टुंगो लगाइसक्ने' पनि प्रस्तावमा उल्लेख छ।
यसअघि समानुपातिक सांसद भैसकेकालाई फेरि समानुपातिक सांसद नबनाउने र गएको स्थानीय तहमा उम्मेदवार उठेकाहरूलाई पनि अहिले उम्मेदवार बनाउन नहुने प्रस्ताव महामन्त्री कोइरालाले गरेका छन्।
त्यसमाथि छलफल जारी छ। बेलुका ४ बजेसम्मका लागि कांग्रेस बैठक स्थगित छ।