कांग्रेससहितका ६ दलद्वारा चुनावी तालमेलको योजना बनाउन गठित कार्यदलको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बुधबार साँझ बसेको ६ दलका शीर्ष नेताको बैठकले उक्त कार्यदल गठन गरेको थियो। नेपाली काँग्रेस नेता विमलेन्द्र निधि संयोजक रहेको उक्त कार्यदलमा ८ सदस्य छन्।
काँग्रेसका विमलेन्द्र निधि र मिनेन्द्र रिजाल, पूर्ण बहादुर खड्का, राजपाका सर्वेन्द्रनाथ शुक्ला, संघीय समाजवादी फोरमका रामसहाय यादव, नेपाल लोकतान्त्रिक फोरमका गोपाल दहित, राप्रपका बुद्धिमान तामाङ र र राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे उक्त कार्यदलमा छन्।
६ दलको कार्यदलले कसरी र कहाँ-कहाँ तालमेल गर्नेबारे टुंगो लगाउने भनिएको छ।
बुधबार साँझ यी ६ दलका शीर्ष नेताहरुको बैठकले कार्यदल बनाएर तालमेलबारे टुंगो लगाउने समझदारी गरेका थिए।
सत्तारुढ दल माओवादी केन्द्र र एमाले एकतापछि काँग्रेसको पहलमा ६ दलीय गठबन्धन बन्ने समझदारी भएको थियो।