भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको असोज अन्तिम साताका लागि तय भएको नेपाल भ्रमणमा उनी मुक्तिनाथ पनि जाने कार्यक्रम समावेश थियो।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार यसपालि मोदीको मुक्तिनाथ यात्राका लागि नेपाली पक्षले तयारी थालिसकेको थियो। उनी काठमाडौंबाट गएर पोखरामा बस्ने र अर्को दिन हेलिकोप्टरमा मुक्तिनाथ दर्शन गरेर फर्कने कार्यक्रम थियो।
‘उहाँलाई बसाउन पोखराको ग्रान्ड होटलमा सुरक्षा रेकी पनि भइसकेको थियो,’ स्रोतले भन्यो, ‘मुक्तिनाथ दर्शन पछिमात्र उहाँ अरूण तेस्रोको उद्घाटन गर्न जाने कार्यक्रम थियो।’
यसअघिका भ्रमणमा पनि मोदीले मुक्तिनाथ जाने इच्छा देखाएका थिए।
२०७१ मा काठमाडौंमा भएको सार्क शिखर सम्मेलनमा सुरुमा उनी जनकपुर, लुम्बिनी र मुक्तिनाथ पनि जाने भारतीय पक्षले जनाएको थियो। तर पछि उनी काठमाडौं बाहिर जाने कार्यक्रम रद्द भए। त्यही वर्ष साउनमा प्रधानमन्त्रीका रूपमा पहिलो पटक नेपाल आउँदा पनि मोदी तीनै धार्मिक स्थानमा जाने चर्चा थियो।
माथिल्लो अरुण जलविद्युत आयोजनाको शिलन्यास गर्न असोज २८ गते नेपाल आउन लागेका मोदीको भ्रमण नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले प्रभावित बनेको छ। भारतीय प्रधानमन्त्रीले छिट्टै नेपाल भ्रमण गर्ने/ टुंगो लागेको छैन।