निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका विषयमा सांसदहरूले गृहमन्त्रीको जवाफ माग गरेका छन्।
गौचनको हत्याका विषयमा मंगलबार संसदमा समय लिएर सांसदहरूले गृहमन्त्रीको मौनतामा प्रश्न उठाएका हुन्।
कांग्रेस सांसद दीपक गिरीले गृहमन्त्री हत्याको विषयमा मौन बसेको भन्दै प्रश्न उठाए। सांसद रुक्मिणी चौधरीले पनि संसदमा गृहमन्त्री घटनाको विषयमा जवाफ दिनुपर्ने माग गरिन्।
एमाले सांसद जनार्दन ढकालले आमनागरिकको दिनदहाडै हत्याको घटनाले सरकार नागरिकको सुरक्षा गर्न असफल भएको सन्देश गएको बताए।
नेकपा माओवादी केन्द्रका रामनारायण बिडारीले भने यत्रतत्र हतियार फेला पर्ने र हत्याको घटनाबाट कतै निर्वाचनप्रति नै षड्यन्त्र त हुँदै छैन भन्दै प्रश्न उठाए।
फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीले पनि निर्वाचनको मुखमा मुलुक सुरक्षा चुनौतीबाट गुज्रिरहेको बताए।
सोमबार राजधानीको शान्तिनगरमा अज्ञात समूहले गौचनमाथि गोली प्रहार गरेको थियो। उनको उपचारको क्रममा सिभिल अस्पतालमा निधन भएको थियो।