आगामी संसदीय तथा प्रदेशसभा निर्चावनको परिचालनको ‘कमाण्ड’ सम्हाल्ने जिम्मा नेता कृष्ण प्रसाद सिटौलालाई दिने तयारी काँग्रेसले गरेको छ।
एमाले माओवादीले बामपन्थी गठबन्धन बनाएर गएपछि काँग्रेस उम्मेदवारको चुनावी रणनीति र परिचालन थप प्रभावकारी बनाउनुपर्ने चुनौती आएकोले वरिष्ठ नेताहरूमध्ये एकले आफू चुनाव नलडि सो जिम्मेवारी लिनुपर्ने कुरा काँग्रेस भित्र उठेको छ।
चुनावी रणनीति र परिचालनमा दख्खल भएका काँग्रेस नेता तथा पूर्वमहामन्त्री सिटौला त्यो जिम्मेवारी दिइने सम्भावना रहेको एक नेताले सेतोपाटीलाई बताए।
'उहाँ समानुपातिकमा बसेर चुनाव ‘कमाण्ड’ सम्हाल्ने सम्भावना छ,' ति नेताले भने।
काँग्रेसले राप्रपा लगायतका पार्टीसँग गठबन्धन बनाउने कसरत गरिरहेको छ। राप्रपाले प्रत्यक्षतर्फ आफूले पाउनुपर्ने भनेर माग गरेमध्ये झापाको क्षेत्रनम्बर २ पनि पर्छ। जो सिटौलाको क्षेत्र हो। त्यहाँ राप्रपाका युवा नेता राजेन्द्र लिङ्गदेन छन्। उनी गत संविधानसभा निर्वाचनमा सिटौलाका निकटतम प्रतिद्वन्दी थिए। गएको स्थानीय तह निर्वाचनमा सोहि क्षेत्रमा पर्ने २ गाउँपालिका पनि राप्रपाले जितेको छ।
सेतोपाटीसँग कुरा गर्दै सिटौलाले आफू चुनाव नलड्ने भन्ने हल्ला मात्र भएको बताए। उनले पार्टीभित्र आफूलाई चुनाव नलडि परिचालनको जिम्मा लिने विषयमा कुरै नचलेको बताए।
'तपाईहरू अनुमान गर्नुहुन्छ र त्यसै अनुसारका टिप्पणी गर्नुहुन्छ। संसदीय समिति गठन भयो, बैठक बसिरहेको छ पार्टीका विभिन्न बैठक भएका छन्, त्यहाँ त यस्तो कुरा उठेको छैन पार्टी सभापतिले समेत मलाई केही भन्नुभएको छैन। म चुनाव नलड्ने भन्ने हल्ला मात्रै हो,' उनले भने, 'गठबन्धन सम्बन्धी कार्यदलमा राप्रपाले त्यो ठाउँ मागेको होला हामी सल्लाह गर्छौँ भनेका होलान् तर चुनाव नलड्ने भन्ने कुरा साँचो हैन।'