संघ र प्रदेशको निर्वाचन सर्ने भन्दै फैलिएको हल्लाका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष जिज्ञासा राखेका छन्।
बालुवाटारमा भएको तीन दलको बैठकमा दुवै नेताले निर्वाचन सर्ने विषयमा फैलिएको हल्लाबारे प्रधानमन्त्री देउवालाई प्रश्न सोधेका हुन्।
बैठकमा सहभागि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार तीन दलका शीर्ष नेताबीच निर्वाचनको आशंका र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको हो।
जवाफमा देउवाले ‘हरहालतमा चुनाव हुन्छ। ढुक्क हुनुस्’ भन्ने जवाफ दिएको श्रेष्ठले बताए। दलहरुको बैठकमा राष्ट्रिय सभा निर्वाचन विधेयकको विषयमा समेत छलफल भएको थियो।
सरकारले संसदमा दर्ता गराएको राष्ट्रिय सभा विधेयकमा नेपाली कांग्रेसले पछिल्लो समय असहमति राख्दै आएको छ।
राष्ट्रिय सभाको निर्वाचन प्रणाली एकल संक्रमणीय हुनुपर्ने अडानमा कांग्रेस छ। एकल संक्रमणीय प्रणालीमा दलले समानुपातिकमा प्राप्त गरेको मतका आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नेछन्।
हाल सरकारले ल्याएको विधेयकमा गाउँपालिका र नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष र प्रमुख र उपप्रमुखले मतदान गर्ने तथा प्रदेशबाट निर्वाचित हुने व्यवस्था छ।
‘राष्ट्रिय सभाको निर्वाचन प्रणालीबारे छलफल भएको छ तर सहमति जुटेको छैन’, श्रेष्ठले भने, ‘एमालेले मानेको छैन। पुन: छलफल गर्ने कुरा भएको छ।‘
सरकारले विधेयक संसद सचिवालयमा ल्याएपनि दलहरुबीच सहमति नहुँदा संसद बैठकमा अगाडि बढाएको छैन। निर्वाचन अघि संसदको बैठक भोली अन्तिम पटक राख्ने तयारीमा सभामुख ओनसरी घर्ती छिन्।