प्रधानमन्त्री शेरबहादुर देउवाले संसद सकिनु एक दिनअघि मन्त्रीमण्डल किन विस्तार गरे भनी प्रश्न उठेको छ।
प्रधानमन्त्रीसँग सुविधाजनक बहुमतसहित इतिहासकै ठूलो मन्त्रिपरिषद थियो। चुनाव नजिकिएका बेला यो विस्तारपछि सत्तारुढ नेपाली कांग्रेसले आलोचना खेप्नुपर्ने पक्का थियो।
तैपनि, देउवाले ८ जनालाई बिनाविभागीय मन्त्री बनाउँदै मन्त्रीमण्डल विस्तार गरे।
उनले यसो गर्नुको कारण के त?
प्रतिपक्षी नेकपा एमालेसँग गठवन्धन गरेको माओवादी केन्द्रले सत्ता छाडे सरकार अल्पमतमा पर्ने सम्भावना देखेर कमल थापा नेतृत्वको राप्रपालाई ल्याएको देउवानिकट एक नेताले बताए।
‘हामीलाई प्राप्त सूचनाअनुसार माओवादीले भोलि–पर्सि नै सरकार छाड्ने सम्भावना छ। माओवादीले मन्त्रीमण्डल छाड्यो भने सरकार अल्पमतमा पर्छ,’ ती नेताले सेतोपाटीसँग भने, ‘सरकार अल्पमतमा परेको र त्यही बेला संसद अन्त्य भई कोही सांसद नरहेको अवस्थामा नयाँ मन्त्री बनाउन नमिल्ने भन्दै बखेडा झिकिने सम्भावना थियो।’
देउवा नेतृत्वको सरकारलाई राप्रपा प्रजातान्त्रिक, राजपा, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम लगायत पार्टीको समर्थन कायमै छ।
राप्रपा फुटेपछि थापा नेतृत्वको राप्रपाले दिएको समर्थन फिर्ता लिएको थियो। ‘केही गरेर माओवादी बाहिरियो भने पनि राप्रपाको समर्थन पाउँदा सरकारसँग सुविधाजनक बहुमत पुग्छ,’ ती नेताले भने, ‘त्यही भएर सरकारमा राप्रपाको समर्थन खोज्यौं।’
राप्रपाले आफूलाई सरकारमै लगे मात्र समर्थन दिने सर्त राखेपछि संसद सकिनु एक दिनअघि अध्यक्ष थापालाई उपप्रधानमन्त्रीसहित ८ जना सांसदलाई मन्त्रीमण्डलमा ल्याएको ती नेताले बताए।
तर, माओवादीले अहिले सरकार नछाड्ने पार्टीका एक नेताले सेतोपाटीलाई बताएका छन्।
‘माओवादीले सरकार छोड्छ भन्ने आशंका प्रधानमन्त्री देउवालाई थियो। तर अध्यक्ष प्रचण्डले नछाड्ने बताउनुभएको छ,’ ती नेताले भने।
शुक्रबार निर्वाचन आयोगको छलफल कार्यक्रममा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच यसबारे कुराकानी भएको ती माओवादी नेताले जानकारी दिए।
उनका अनुसार उक्त भेटमा देउवाले ‘तपाईंहरु सरकार छाड्दै हुनुहुन्छ रे नि?’ भनी दाहाललाई सोधेका थिए। जवाफमा दाहालले भने, ‘होइन, हामी अहिले सरकार छाड्दैनौं।’
दाहालले यस्तो जवाफ दिए पनि देउवाले ‘तपाईंहरुको भर भएन, त्यही भएर म राप्रपालाई मन्त्रीमण्डलमा ल्याउँछु’ भनेका थिए।
दिउँसो दाहालसँगको वार्तापछि देउवाले साँझ मन्त्रीमण्डल विस्तार गरेका हुन्। अब माओवादी सरकारबाट बाहिरियो भने पनि एमाले र माओवादीबाहेक नै सरकारसँग ३०२ जना सांसदको समर्थन पुग्छ। यसले सरकार अल्पमतमा पर्ने अवस्था छैन।
यो पनि पढ्नुहोस्ः