पछिल्लो राजनीतिक घटनाक्रमबारे राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवबीच अहिले १२ बजे छलफल हुने भएको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार शुक्रबार भएको सरकार विस्तारबारे प्रमुख आयुक्त यादवले राष्ट्रपतिसँग छलफलका लागि समय मागेका थिए।
प्रधामन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्रीसहित ८ मन्त्रीको सपथको लागि राष्ट्रपति कार्यालयमा शुक्रबार चिठी पठाएका थिए।
संसद सकिनु एक दिनअघि र निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा सरकार विस्तार आचार संहिताको उल्लंघन भएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ।
हिजो नै मन्त्रीहरूको सपथका लागि पत्र पठाइए पनि राष्ट्रपति कार्यालयले अझै सपथको समय टुंग्याएको छैन। मन्त्रिमण्डल विस्तारले हुने अाचारसंहिता उल्लंघनबारे प्रमुख आयुक्त र प्रधानमन्त्रीसँगको परामर्शपछि मात्र सपथको समय तोक्ने राष्ट्रपति कार्यालयको तयारी छ। निर्वाचन अायोगका प्रवक्ता नवराज ढकालले सरकार विस्तार अाचारसंहिता विपरित रहेको बताए। यसअघि पनि सरकारलाई मन्त्रिपरिषद्को निर्णय सच्चाउन अाग्रह गरिएको ढकालले बताए।
'यो सिद्धान्तभन्दा पनि व्यवहार र नैतिक कुरा हो, मन्त्रिपरिषद् विस्तार अाचारसंहिता विपरित भएको अायोगको ठहर छ,' ढकालले भने। यस विषयमा थप धारणा बनाउन अहिले अायोग पदाधिकारीको बैठक बसिरहेको ढकालले जानकारी दिए।
प्रधानमन्त्री देउवाले शुक्रबार उपप्रधानपन्त्रीसहित ४ मन्त्री र ४ राज्यमन्त्री थप्ने निर्णय गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा चिठी पठाएका थिए। अाचारसंहितामा मन्त्रिमण्डल विस्तारमा रोक नलगाइएको प्रधानमन्त्री कार्यालयको तर्क छ।
‘कार्यकारीले गरेको काम हामीले रोक्ने भन्ने हुँदैन। सपथ त हुन्छ नै तर यस विषयमा परामर्श गरेरमात्र समय तोक्ने कि भनेर छलफल हुन लागेको हो,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘प्रमुख निर्वाचन आयुक्तसँगको परामर्शपछि राष्ट्रपतिले प्रधानमन्त्रीसँग पनि शितलनिवासमा छलफल गर्नुहुन्छ।’
एमालेसँग मिलेर वाम गठबन्धन बनाउने निर्णय गरेको सत्ता साझेदार नेकपा माओवादी केन्द्रले केही दिनमा सरकार छाड्ने सूचना आएकाले सुविधाजनक बहुमतका लागि राप्रपालाई सरकारमा ल्याइएको बालुवाटार स्रोतले बताएको छ। तर माओवादीले भने तत्काल पार्टीले सरकार छोड्ने योजना नरहेको बताउँदै आएको छ।
पहिले नै ५६ सदस्यीय रहेको देउवा मन्त्रिमण्डल ८ मन्त्री थपिएपछि इतिहासकै ठूलो मन्त्रिमण्डल बन्नेछ।