संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसदको अन्तिम बैठक अहिले सुरु भएको छ। अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक तस्बिर खिचाएका छन्। त्यसपछि अपराह्न ३ बजे बैठक सुरु भएको हो।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखले विदाइ सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्ने सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए। समापन समारोहका लागि शनिबारै सभामुख घर्तीले संसद् परिसरमा रात्रिभोज आयोजना गरेकी छन्।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुने निर्वाचन तालिका छ। त्यसको अघिल्लो दिन शनिबार राति १२ बजेदेखि नै संसदको अवधि सकिन लागेको हो।
२०७० माघ ८ देखि सुरु संविधानसभाले २०७२ असोज ३ गते संविधान जारी गरेपछि सोही दिनदेखि संविधानसभा व्यवस्थापिका–संसदमा रुपान्तरित भएको हो।
संसदले यस अवधिमा महत्वपूर्ण विधेयक पारित गर्नुका साथै महाअभियोगजस्ता नयाँ अनुभवसमेत गर्नुपर्यो। संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखआयुक्त लोकमान कार्की र सर्वाेच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भए पनि त्यस सम्बन्धमा छलफल प्रक्रिया अघि बढ्न सकेन।
संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा बढी ध्यान केन्द्रित गर्नुपरेको संसदले अन्तिम समयमा दलहरुबीच सहमति नभएपछि ‘राष्ट्रिय सभा सम्बन्धी विधेयक’ जस्तो महत्वपूर्ण विधेयक र जनचासोको महत्वपूर्ण विधेयक ‘चिकित्सा शिक्षा विधेयक’ भने पारित गर्न सकेन।
संविधानको भाग–३३ संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९६ मा रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल २०७४ माघ ७ गतेसम्म कायम रहने उल्लेख छ। त्यही धाराको प्रतिबन्धात्मक प्रावधानमा त्यस्तो कार्यकाल पूरा हुनुअगावै संविधानबमोजिमको प्रतिनिधिसभाको निर्वाचन हुने भए त्यस्तो निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म संसद कायम रहने प्रावधान उल्लेख छ।
हेर्नुहोस् बैठकको लाइभ भिडियोः