तीन दिनअघि गठित नेपाली कांग्रेसको संसदीय समितिमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच जना नेता थप गरेका छन्।
प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्ने समितिमा थपिएका सदस्यहरू शेखर कोइराला, मानबहादुर विश्वकर्मा, फरमुल्लाह मन्सुर, मिनेन्द्र रिजाल र एनपी साउद रहेका कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले सेतोपाटीलाई जानकारी दिए।
देउवाले तीन दिनअघि आफूसहित १७ सदस्यीय समिति गठन गरेका भएपनि शनिबार ५ जना थपेपछि यो संख्या २२ पुगेको छ।
यसअघि समितिमा महामन्त्री शशांक कोइराला, सदस्यहरू रामचन्द्र पौडेल, सीतादेवी यादव, खुम बहादुर खड्का, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, पूर्ण बहादुर खड्का, राम शरण महत, ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, प्रकाशशरण महत, बालकृष्ण खाँड, चित्रालेखा यादव र अर्जुननरसिंह केसी छन् ।
पार्टी विधानअनुसार समितिमा १५ सदस्य रहने प्रावधान छ। तर, विधान प्रावधानभन्दा बढी सदस्य राख्दा पनि समितिमा दलित, मुस्लिम जस्ता समुदायको प्रतिनिधित्व नभएको भन्दै प्रश्न उठेपछि सभापति देउवाले शनिबार समितिमा थप सदस्य मनोनयन गरेका हुन्।