प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि बन्द सूची बुझाउने समय सकिन २ घन्टामात्र बाँकी रहँदा दलहरू अझै निर्वाचनमा आयोगमा बन्द सूची लिएर पुगेका छैनन्।
साना दुई दलले भने बन्दसूची बुझाएका छन्। नेपाली कांग्रेसले बन्द सूची बुझाउन टोकन लिएको छ। निर्वाचन आयोगका कर्मचारी परिसरमा बन्द सूची बुझाउने डेस्क नै बनाएर बसेका छन्। तर दलहरु भने उम्मेद्वारको टुङ्गो लगाउन नसक्दा र क्लष्टर मिलाउन नसक्दा आयोग पुग्न सकेका छैनन्।
दलहरुले प्रतिनिधि सभाका लागि बढीमा १ सय १० जना उम्मेद्वारको सूची बुझाउनु पर्नेछ। २७५ सदस्यीय संसदमा १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन्।
त्यस्तै दलहरुले प्रत्येक प्रदेशमा पनि समानुपातिक सुची बुझाउनु पर्नेछ। प्रदेश नं १ को ९३ सदस्यीय प्रदेश सभामा ३७ जना सामानुपातिक बन्नेछन्। त्यस्तै प्रदेश नं २ को १०७ सदस्यीय प्रदेशसभामा ४३ जना समानुपातिकबाट छानिनेछन्।
यसरी दलहरुले बुझाउने सूचीमा ३३ प्रतिशत महिला, दलित, अल्पसंख्यक र पिछिडिएका क्षेत्रलाई पनि ध्यान दिनुपर्छ। प्रत्येक प्रदेशका पिछडिएका क्षेत्र छुट्टाछुट्टै छन्। जसबाट समानुपातिकमा ल्याउउनु दलहरुका लागि चुनौती छ।
प्रदेश नं ३ मा १ सय ११ सदस्यीय प्रदेश सभा बन्दैछ। जसका लागि दलहरुले समानुपातिकबाट ४५ जनाको नाम सिफारिस गर्न पाउँछन्।
दलहरुले ४५ जनाकै नाम बुझाउनु पर्दैन। तर क्लष्टर भने मिलाउनै पर्छ। आयोगले दलहरुलाई यस्ता क्लष्टर मिलाउन समय समेत दिनेछ।
प्रदेश नं ४ को ६० सदस्यीय प्रदेश सभामा २४ जना समानुपातिक मार्फत आउनेछन्।
त्यस्तै प्रदेश ५ मा ८६ सदस्यीय संसदको ३४ जना समानुपातिक सांसद हुनेछन्। प्रदेश ६ मा समानुपातिकका १६ सांसद सहितको ४० सदस्यीय प्रदेश सभा गठन हुनेछ। प्रदेश ७ मा ५३ सदस्यीय प्रदेश सभा बन्नेछ।
जसमा २१ जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिनेछन्। प्रदेश सभा र प्रतिनिधि सभाका लागि दुई चरणमा आउँदो मंसिर १० र २१ गते निर्वाचन हुँदैछ।
यो पनि हेर्नुहोस्