नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच एउटै समानुपातिक सूची बुझाउने अन्तिम गृहकार्यका लागि दुबै पार्टीका नेता निर्वाचन आयोग पुगेका छन्।
दुबै पार्टीले आजै पार्टी एकता घोषणा गर्ने भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा साँझ साढे ५ बजे पत्रकार सम्मेलन आयोजना गरेका थिए। बिहानदेखि बालुवाटारमा दुबै पार्टीका नेता सूची बनाउन जुटेका भए पनि आयोगले दिएको समय सीमा साँझ पाँच बजेसम्म पनि अन्तिम सूची तयार हुन सकेन।
त्यसपछि दुबै पार्टीका नेताहरूले सूचीलाई अन्तिम रूप दिएर निर्वाचन आयोगमा बुझाउन आयोगको कार्यालयमा पुगेर छलफललाई निरन्तरता दिएका छन्।
साँझ सवा पाँच बजे आयोगको एउटा कोठामा नेपाली कांग्रेसका नेताहरु शेखर कोइराला, मिनेन्द्र रिजाल, बालकृष्ण खाँड र लोकतान्त्रिक फोरमका नेताहरु अध्यक्ष विजयकुमार गच्छदार र योगेन्द्र चौधरी छलफलमा व्यस्त छन्। दुबै पार्टीले एउटै समानुपातिक सूची बुझाएर साँझ बालुवाटारमा पार्टी एकता घोषणा गर्ने प्रयास भइरहेको बालुवाटार स्रोतले बतायो।