आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउँदै छन्। सबै प्रदेश र केन्द्रीय संसदका लागि उम्मेद्वारी दिँदा दलहरुले २ लाख २५ हजार रुपैयाँ धरौटी बुझाउनु पर्छ।
केन्द्रीय संसदका ११० जना सांसदको सूची बुझाउँदा दलले ५० हजार रुपैयाँ धरौटी राख्नुपर्छ भने प्रत्येक प्रदेशमा उम्मेदवारी दिँदा २५ हजारका दरले धरौटी राख्नुपर्छ। सातवटा प्रदेशमा उम्मेदवारी दिँदा १ लाख ७५ हजार रुपैयाँ धरौटी राख्नुपर्छ।
निर्वाचन आयोगले आइतबार साँझ पाँच बजेसम्म समानुपातिक सूची बुझाउन समय दिएको थियो। मुख्य दलहरुले भने साँझ ६ बज्दासम्म पनि सूची बुझाउन सकेका छैनन्।
यसैबीच निर्वाचन आयोगले पहिलो चरणमा चुनावमा हुन लागेका ३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जनाएको छ। मंसिर १० गते हिमाली र केही पहाडी जिल्लामा पहिलो चरणमा चुनाव हुँदैछ।