नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई असोज १७ गते घोषणा भएको एमाले–माओवादीको वाम गठबन्धनमा अन्तिम समयमा सहभागी बनेका थिए। तर गठबन्धनभित्र सिट बाँडफाँडको कुरा नमिलेपछि १० दिनपछि उनी गठबन्धनबाट बाहिरिए।
त्यसपछि उनी गृह जिल्ला गोरखामा मात्र कांग्रेससँग चुनावी तालमेल गर्ने निर्णयमा पुगेका छन्। दुबै दलबीच संघीय संसदका २ सिट र प्रदेश सभाका चार सिटमा तालमेल गर्ने मोटामोटी सहमति बनेको छ।
अन्तिम निर्णय हुन बाँकी भए पनि अहिलेसम्मको सहमतिअनुसार गोरखा १ मा नयाँशक्तिले नेपाली कांग्रेसलाई सघाउने छ भने क्षेत्र नम्बर २ मा कांग्रेसले बाबुरामलाई सघाउने छ।
२०७४ वैशाखको स्थानीय निर्वाचनको परिणाम हेर्दा गोरखामा चुनावी तालमेल कांग्रेसलाईभन्दा बढी बाबुरामलाई आवश्यक देखिन्छ।
गत संविधान सभामा गोरखा १ बाट चुनाव जितेका बाबुराम यसपालिक्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न लागेका छन्। यो क्षेत्रमा कांग्रेससँग तालमेल बिना उनले चुनाव जित्न निकै कठीन देखिन्छ। किनकी स्थानीय चुनावमा यो क्षेत्रमा उनको पार्टी नयाँ शक्ति, कांग्रेस र माओवादीभन्दा १० हजार बढी मतले पछाडि छ।
गोरखा क्षेत्र नम्बर २ मा सदरमुकाम गोरखा नगरपालिकाका ८ देखि १४ सम्मका वडासहित पालुङटार नगरपालिका, सिरानचौक, सुलिकोट र अजिरकोट गाउँपालिका पर्छन्।
स्थानीय निर्वाचनमा यो क्षेत्रका ३८ वडामा वडाअध्यक्षले पाएको मतलाई आधार मान्दा माओवादी केन्द्र र नेपाली कांग्रेसको १ हजार १ सय ८३ मत अन्तर देखिन्छ।
यी स्थानीय तहका वडाअध्यक्षमा माओवादीले १७ हजार ३ सय ८ मत पाएको छ भने कांग्रेसले १६ हजार १ सय २५ मत ल्याएको छ।
नयाँ शक्ति र एमालेको मत लगभग समान छ। वडाअध्यक्षमा नयाँ शक्तिले ७ हजार ५ सय ११ मत पाएको छ भने एमालेले ७ हजार ५ सय ४ मत ल्याएको छ।
यो क्षेत्रमा एमाले र माओवादी गठबन्धनको २४ हजार ८ सय १२ मत पुग्छ भने कांग्रेस र नयाँ शक्तिको २३ हजार ६ सय ३६ मत हुन्छ। यसको अर्थ कांग्रेससँग मिल्दा पनि यहाँ चुनाव जित्न बाबुरामले थप मत आफूतर्फ तान्न सक्नुपर्छ।
गोरखा क्षेत्र नं १ मा पनि स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा भएको थियो। यो निर्वाचन क्षेत्रमा गोरखा नगरपालिकाको १ देखि ७ वडा, गण्डकी, सहिद लखन, भीमसेन, आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिका पर्दछन्।
यो पनि पढ्नुहोस् :
फोरम-राजपा गठवन्धनले सप्तरीका चारै सिट जित्न सक्छयो क्षेत्रमा पर्ने ५६ वडाका वडाध्यक्षका उम्मेद्वारले पाएको मतलाई हेर्दा कांग्रेस माओवादीभन्दा झन्डै पाँच हजार बढी मत पाएको छ तर एमाले र माओवादी मिलिसकेपछि उसले पाएको मत जितका लागि पर्याप्त नहुन सक्छ। किनकी वडाअध्यक्षमा एमाले र माओवादी यो क्षेत्रमा कांग्रेसभन्दा झन्डै साढे सात हजार बढी मत पाएका छन्।
यो क्षेत्रका वडाअध्यक्षमा कांग्रेसले २१ हजार ५ मत पाएको छ भने माओवादीले १६ हजार ७ सय ४७ मत ल्याएको छ।
यहाँ एमालेले ११ हजार ६ सय ३२ मत ल्याएको छ भने नयाँ शक्तिले ५ हजार ९ सय २९ मत पाएको छ।
दुबै क्षेत्रको मतलाई आधार मान्दा गोरखामा एमाले -माओवादी गठबन्धनका उम्मेदवारसँग प्रतिष्पर्धामा आउन मात्रै पनि कांग्रेसले र नयाँ शक्तिसँग तालमेल गर्नैपर्छ।