वाम गठबन्धन बनाएका दुई दल नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा मंसिर १० गते हुने चुनावका लागि ३२ जिल्लामा सिट टुंग्याएका छन्।
दुई दल सम्मिलित कार्यदलले बिहीबार अबेर राति प्रतिनिधि र प्रदेश सभाका लागि दुई दलका उम्मेदवारका लागि निर्वाचन क्षेत्र टुंग्याएका हुन्।
एमाले नेता तथा कार्यदल सदस्य सुरेन्द्र पाण्डेका अनुसार ३२ जिल्ला ३७ निर्वाचन क्षेत्रमध्ये एमालेको भागमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, ओखलढुंगा, खोटाङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक–१, नुवाकोट–२, धादिङ–१ धादिङ–२, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ–१, डोल्पा, मुगु, बझाङ, बाजुरा, बैतडी, दार्चुला परेका छन्।
यो पनि पढ्नुस्: ३२ जिल्लाका प्रदेश सभामा एमाले र माओवादीले बाँडे ४१ र ३३ सिटत्यस्तै माओवादी केन्द्रको भागमा भोजपुर, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक–२, नुवाकोट–१, लम्जुङ, गोरखा–१ र २, बाग्लुङ–२, रोल्पा, रुकुम पूर्व पश्चिम दुबै, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोटका निर्वाचन क्षेत्रमा परेका छन्।
आउने चुनावमा ६० र ४० प्रतिशत सिट बाँड्ने सहमति गरेका एमाले र माओवादीले पहिलो चरणको चुनाव हुने जिल्लामा ५७ र ४३ प्रतिशत सिट बाँडेका छन्।
पाण्डेले सिट बाँडफाँड सकिए पनि उम्मेदवार भने शुक्रबार साँझसम्म टुंग्याउने गरी छलफल भइरहेको बताए। 'बाँडफाँड सकियो अब पार्टीका उम्मेदवार छान्ने छलफलमा छौं', पाण्डेले सेतोपाटीसँग भने।