नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले प्रतिनिधि सभामा उम्मेदवार पाउनु पर्ने दाबी नछोडेपछि कांग्रेसले रसुवामा उम्मेदवार आइतबार बिहानसम्म छान्न सकेको छैन।
कांग्रेसले बाबुरामलाई गोरखा– २ मा सघाउने निर्णय गरिसकेको छ। गत स्थानीय निर्वाचनमा एक गाउँपालिका जितेको नयाँ शक्तिलाई रसुवामा पनि सघाउनु पर्ने बाबुरामको अडानले कांग्रेसले उम्मेदवार छान्न नसकेको हो।
कांग्रेसका एक नेताले सोही विषयमा बाबुरामसँग अहिले छलफल चलिरहेको बताए।
‘उहाँले जित्ने भए त हामी दिइ नै हाल्थ्यौं तर उहाँहरु जित्नुहुन्न बरु हाम्रो सम्भावना बलियो छ,’ कांग्रेसका ती नेताले भने।
रसुवाबाहेक पहिलो चरणमा चुनाव हुने अन्य ३१ जिल्लामा भने कांग्रेसले शनिबार साँझ नै उम्मेदवार टुंग्याइसकेको नेता प्रकाशशरण महतले जानकारी दिए।
कांग्रेसले पहिलो चरणमा गोरखा– २ मा बाबुुरामको नयाँ शक्तिलाई सघाउने निर्णय गरिसकेको छ। नयाँशक्तिले गोरखा– १ मा कांग्रेस उम्मेदवार चिनकाजी श्रेष्ठलाई सहयोग गर्नेछ।
दुई पार्टीबीच गोरखाका ४ प्रदेश सभा सिटमध्ये एउटा नयाँ शक्ति र बाँकी तीनमा कांग्रेसले उम्मेदवार बनाउने सहमति पनि बनेको छ।