पहिलो चरणमा मंसिर १० गते चुनाव हुने ३२ हिमाली र पहाडी जिल्लामा प्रतिनिधि र प्रदेश सभाका लागि आइतबार उम्मेदवारी दर्ता चलिरहेको छ।
एमाले र माओवादीले गठवन्धन बनाएर संयुक्त उम्मेदवार उतारेपछि यो गठवन्धन नै पहिलो चरणको चुनावमा सशक्त देखिएको छ। यी ३२ जिल्लाका अधिकांश निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै लड्दै छ भने केही ठाउँमा राप्रपा तथा नयाँशक्तिसँग चुनावी तालमेल गर्दैछ।
पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा वाम गठवन्धन र कांग्रेस अनि ऊसँग चुनावी तालमेल गरेर उठेका चर्चित नेताहरुबीच चुनावी भिडन्त हुनेछ। संघीय संसदका लागि हुने यी ३७ मध्ये १० निर्वाचन क्षेत्रमा चुनावी भिडन्त रोचक हुने देखिएको छ।
ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई पहिलो पटक चुनाव लड्दै छन्। उनी पछिल्ला दुई संविधान सभा निर्वाचनमा काठमाडौं–६ बाट पराजित भएका थिए। एमाले युवा नेता भट्टराई सुरक्षित निर्वाचन क्षेत्र खोज्दै जन्मथलो ताप्लेजुङ फर्किएका हुन्। २०४८ सालको पहिलो बहुदलीय चुनावपछि दुई क्षेत्र रहेको ताप्लेजुङमा कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा हुने गर्छ।
यो जिल्लामा प्रायः कांग्रेस र एमालेले एक/एक सिट बाँड्ने गरेका थिए। पछिल्लो संविधान सभामा भने दुबै सिट एमालेले जितेको थियो। यसपालि ताप्लेजुङमा एउटा मात्र निर्वाचन क्षेत्र कायम गरिएको छ।
लिम्बूहरुको ठूलो बसोबास रहेको सुदूरपूर्वी पहाडी जिल्ला ताप्लेजुङमा यसपालि वाम गठबन्धन र कांग्रेसबाट गैरलिम्बू समुदायका उम्मेदवार उठेका छन्।
यहाँ एमाले–माओवादीका संयुक्त उम्मेदवार भट्टराईविरुद्ध कांग्रेसले केशव दाहाललाई उठाएको छ।
यो पनि हेर्नुहोस्;
अर्को पूर्वी हिमाली जिल्ला सोलुखुम्बुमा एमालेले माओवादीलाई छोडेको छ। त्यहाँ माओवादीका भीमकुमार राई कांग्रेसका चर्चित नेता तथा पूर्वमन्त्री बलबहादुर केसीविरुद्ध चुनावी मैदानमा उत्रिएका छन्। २०४८ सालदेखि नै सोलुखुम्बुबाट निर्वाचित हुँदै आएका केसी २०६४ सालमा भने माओवादी उम्मेदवारसँग पराजित भएका थिए।
यसपालि २ निर्वाचन क्षेत्रमा झरेको सिन्धुपाल्चोक पनि चुनावी प्रतिष्पर्धा रोचक हुने भएको छ। सिन्धुपाल्चोकमा वाम गठवन्धनबाट उम्मेदवार चयन गर्न एमाले र माओवादीलाई अप्ठेरो परेको थियो।
शुक्रबार एमालेले सिन्धुपाल्चोक –१ बाट उम्मेदवार उठाउने र सिन्धुपाल्चोक –२ मा माओवादी नेता अग्नि सापकोटा उठ्ने सहमति भएको थियो। त्यसो हुँदा क्षेत्र नम्बर १ मा एमाले नेता अरुण नेपाल उठ्ने सम्भावना थियो। तर एमालेभित्र ठूलो विरोध भएपछि एमालेले. निवर्तमान सांसद शेरबहादुर तामाङलाई क्षेत्र नम्बर २बाट उठाउने र माओवादीका सापकोटा क्षेत्र नम्बर १ बाट उठ्ने गरी शनिबार राति टुंगिएको हो।
सिन्धुपाल्चोक १ मा अब एक बहालवाला र एक पूर्वसञ्चारमन्त्रीबीच चुनावी भिडन्त हुने भएको छ। सिन्धुपाल्चोक–१ मा कांग्रेसबाट सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत उठेका छन्।
सिन्धुपाल्चोक–२ को चुनावी प्रतिष्पर्धा यसपालि झनै रोचक हुने देखिन्छ।
पछिल्लो संविधान सभाको निर्वाचन क्षेत्र नम्बर ३ का धेरै भाग समेटिएको यो क्षेत्रबाट एमालेका तामाङ र राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाबीच प्रतिष्पर्धा हुँदैछ। सिन्धुपाल्चोकमा राप्रपा प्रजातान्त्रिक र कांग्रेसबीच चुनावी तालमेल भएको छ। सिन्धुपाल्चोक – १ मा राप्रपाले कांग्रेसका बस्नेतलाई सघाउने छ भने २ मा कांग्रेसले राणालाई सघाउने छ।
परम्परागत रूपका कांग्रेस बलियो रहेको नुवाकोटमा पनि यसपालि वाम गठबन्धनका कारण चुनाव प्रतिष्पर्धात्मक हुने भएको छ। नुवाकोट–१ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डाक्टर रामशरण महतविरुद्ध एमाले–माओवादीका संयुक्त उम्मेदवारका रुपमा माओवादी नेता हितबहादुर तामाङ चुनाव लड्दै छन्।
नुवाकोट–२ मा कांग्रेसका अर्का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीविरुद्ध वाम गठबन्धनबाट एमालेका नारायणप्रसाद खतिवडा उम्मेदवार बनेका छन्।
लमजुङमा पनि यसपालि एउटा मात्र निर्वाचन क्षेत्र कायम भएको छ। यहाँ एमालेले माओवादीलाई छोडिदिएको छ। लमजुङमा माओवादी नेता देव गुरुङ र कांग्रेसका पूर्वसहायक महामन्त्री दिलबहादुर घर्ती चुनावी मैदानमा उत्रिएका छन्।
पछिल्ला दुबै संविधान सभामा माओवादीको बलियो उपस्थिति रहेको गोरखाको चुनाव यसपालि वाम गठबन्धनविरुद्ध कांग्रेस र नयाँशक्तिले चुनावी तालमेल गरेपछि प्रतिष्पर्धात्मक बनेको छ। गोरखा–२ मा कांग्रेसले नयाँशक्तिका बाबुराम भट्टराईलाई छोडिदिएको छ भने गोरखा–१ मा नयाँ शक्तिले कांग्रेसलाई सघाउने सहमति भएको छ। गोरखा–१ बाट कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठ चुनाव लड्दै छन्।
अाजका अन्य समाचार:गोरखा - २ मा बाबुरामविरूद्ध वाम गठवन्धनबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेका छन्। श्रेष्ठ र भट्टराई दुबैले सो क्षेत्रमा अाफ्नो दाबी नछोडेपछि बाबुराम वाम गठवन्धन छोडेर कांग्रेससँग चुनावी तालमेल गर्न अाएका थिए।
पछिल्लो स्थानीय निर्वाचनमा गोरखा -२ मा माओवादी बलियो देखिएको छ। २ नम्बर क्षेत्रका वडाहरूमा माओवादी उम्मेदवारले १७ हजार बढी मत ल्याएका थिए भने कांग्रेस उम्मेदवारहरूले १६ हजार बढी मत पाएका थिए। त्यस्तै नयाँ शक्ति एमालेले ७ हजार मत पाएका थिए।
कांग्रेस र नयाँशक्ति एकातिर र एमाले र माओवादी अर्कातिर हुँदा यो क्षेत्रमा भट्टराई र श्रेष्ठबीच तीव्र प्रतिष्पर्धा हुने भएको छ।
पहिलो चरणमै चुनाव हुन लागेको पहाडी जिल्ला जाजरकोटमा एमालेले माओवादीलाई छोडेको छ। पछिल्लो संविधान सभा जाजरकोटमा दुई निर्वाचन क्षेत्र थिए। जाजरकोट १ मा माओवादी स्थायी समिति सदस्य तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत निर्वाचित भएका थिए भने २ नम्बरमा कांग्रेसका राजीवविक्रम शाही निर्वाचित भएका थिए।
यसपालि १ मात्र निर्वाचन क्षेत्र बनेको जाजरकोटमा बस्नेत एमाले र माओवादीको संयुक्त उम्मेदवार बनेका छन् भने कांग्रेसले शाहीलाई नै टिकट दिएको छ।
जाजरकोटमा आ–आफ्नो बर्चश्व रहेका शाही र बस्नेतबीचको चुनावी प्रतिष्पर्धा पनि रोचक हुने देखिन्छ।
पहिलो चरणको चुनावमा माओवादीका दुई चर्चित नेताहरू वर्षमान पुन र जनार्दन शर्मा पनि चुनाव लड्दै छन्।
पुनको क्षेत्र रोल्पा र शर्माको पश्चिम रूकुममा अरू पार्टीहरूको उपस्थिति कमजोर रहेकाले यी क्षेत्रमा खासै प्रतिष्पर्धा नहुने देखिन्छ।