नेपाली कांग्रेसले आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने ३२ जिल्लामध्ये अन्य चार दलसँग चुनावी तालमेल गर्ने भएको छ।
कांग्रेसले संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा (प्रजातान्त्रिक)सँग चुनावी तालमेल गरेर उम्मेदवार टुंगो लगाएको केन्द्रीय सदस्य डा प्रकाशशरण महतले जानकारी दिए।
नयाँ शक्ति र राप्रपा प्रजातान्त्रिकसँग कांग्रेसले प्रतिनिधि सभामा पनि चुनावी तालमेल गरेको छ भने अन्य दलसँग प्रदेश सभामा चुनावी तालमेल गरेको छ।
कांग्रेसले प्रदेश सभामा भोजपुर (क) मा संघीय समाजवादी फोरमलाई सघाउने भएको छ। त्यस्तै सिन्धुपाल्चोकको २ (ख) मा राप्रपा प्रजातान्त्रिकलाई छोडेको छ। त्यस्तै धादिङ २ को (ख) र बैतडीमा राप्रपालाई सघाउने निर्णय गरेको छ। रसुवा र गोरखाका एक/एक प्रदेश सभामा कांग्रेसले नयाँशक्तिलाई सहयोग गर्ने भएको छ।
मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लाका ७४ प्रदेश सभा सदस्यका लागि चुनाव हुँदैछ।